चेतना अनलाइन
घोराही, १२ फागुन । घोराही उपमहानगरपालिकाले मेला महोत्सवमा हुने अखाद्य बस्तुको व्यापारलाई निरुत्साहित गर्न अनुगमनमा कडाई गरेको छ ।
यसैक्रममा उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरमा आयोजित पिरफिरे मेलाको अनुगमन गर्दै त्यस्ता अखाद्य बस्तुहरु नियन्त्रणमा लिएर नष्ट गरेको छ । आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर गर्ने विभिन्न अखाद्य रङ मिसाइएका खाद्य पदार्थहरु जेरी, समोसा, नमकिन, चना चटपटे, क्यान्डी फूड, पकौडा, चाट र त्यसमा मिसाउन तयार पारिएका रङहरु गरी एकमुस्ट २३ हजार ९ सय मूल्य बराबरको बस्तुहरु जफत गरि नष्ट गरेको उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले जानकारी दिनुभयो ।
जफत गरिएको बस्तुहरुको प्रक्रिया पुर्याइ घोराही उपमहानगरपालिकाको डम्पिङ्ग साइडमा नस्ट गरिएको छ । सो अनुगमनमा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, सरसफाई व्यवस्थापन शाखा, जिल्ला प्रशासन कार्यालय, वडा नम्बर १७ का जनप्रतिनिधी, पत्रकार महासंघ, स्थानीय सुरक्षा निकाय, नगर प्रहरी लगायतको उपस्थिति थियो । अनुगमनको संयोजन घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको थियो ।
यस अघि पनि शाखाले झिगौरामा जारी महोत्सवमा पनि अनुगमन गरेर अखाद्य बस्तुहरु जफत गरेको थियो । घोराही उपमहानगरपालिकाले विभिन्न रंगहरु प्रयोग गरेर बनाईने खाद्य बस्तुहरुमा निगरानी बढाएको छ । नगरले त्यस्ता रंगहरुको प्रयोगमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ ।








