नवराज शर्मा
गढवा, १२ फागुन । श्री जनता माध्यमिक विद्यालय, कालाकाटे, गढवा गाउँपालिका-१, दाङमा ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले मुख्य अतिथिको रूपमा सहभागी हुँदै अभिभावक र विद्यालयको समान भूमिकाले मात्रै असल र सफल व्यक्तित्वको निर्माण हुन सक्ने कुरा उल्लेख गर्नुभयो ।
मन्त्रीले बालबालिकाले घरबाट संस्कार र व्यवहारिक ज्ञान सिक्ने र विद्यालयबाट आधुनिक युगमा आवश्यक पर्ने ज्ञान हासिल गर्ने भएकाले गुणस्तरीय शिक्षाको महत्व झनै बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुशासन र शिक्षाको बलमा मात्रै मानिस सफल बन्न सक्छ। त्यसैले बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा उसले लिएको शिक्षा र अध्ययन गरिरहेको विद्यालयमा निर्भर गर्दछ ।”
उहाँले लुम्बिनी प्रदेशमा सुरु गरिएको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको चर्चा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने लक्ष्य रहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा रहेका ६ हजार ३४० विद्यालयमध्ये ७१ प्रतिशत बालबालिकाले अध्ययन गरिरहेका ४ हजार ५३१ सामुदायिक विद्यालयको गुणस्तर बढाउन यो अभियान महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संविधानसभा सदस्य रस्मिराज नेपाली, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरी, गढवा गाउँपालिका १ न वडाअध्यक्ष वाबुराम अधिकारी, शितगङ्गा नगरपालिका वडा न १ भिम वा केसी, नेकपा एमालेका क्षेत्र न १ संयोजक सहजराम यादव, नेकपा (एमाले ) प्रदेश कमिटी सदस्य जगत पोखरेल, नेकपा एमाले प्रदेश सल्लाहकार शंकर पाण्डे, तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निर्मला बिक लगायतको उपस्थिति थियो ।
स्वागत मन्तव्य विद्यालयका शिक्षक देवलाल यादवले व्यक्त गर्नुभएको थियो भने पूर्वविद्यार्थी मञ्चका सल्लाहकार चन्द्र पुरी र विद्यार्थी सदिक्षा गिरीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, विद्यार्थीका प्रतिभा प्रदर्शन, तथा विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापनमा विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै सामुदायिक विश्वास बढाउने प्रतिवद्धता जनाएको थियो ।