सीप सहितको शिक्षा अहिलेको आवश्यकता : मेयर चौधरी  

चेतना अनलाइन

घोराही, १२ फागुन । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको सातौं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सीप सहितको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहाँले हाम्रो जस्तो मुलुकले विकासको गतिलाई प्रभावकारी बनाउन प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामीलाई अहिले प्राविधिक जनशक्ति निकै चाहिएको छ, युवाहरुलाई रोजगारी र स्वरोजगारमा लगाउनका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण योगदान हुन्छ,’ चौधरीले भन्नुभयो, ‘हामीले समयअनुकूल शिक्षाको प्रणालीलाई सुधार गर्नुपर्छ ।’

अहिले युवाहरुमा विदेश पलायन हुने मनोविज्ञान निकै हावी भएको उल्लेख गर्दै उहाँले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावको विकास गराउनुपर्नेमा जोड दिनुभयो । ‘विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा श्रम गर्न लाज मान्ने प्रवृत्ति छ, यसलाई हामी सबै मिलेर रोक्न जरुरी छ,’ चौधरीले भन्नुभयो, ‘अर्को कुरा युवाहरुमा नकारात्मकता निकै हावी भएको छ, सकारात्मक र रचनात्मक सोचको विकास गर्न हामीले युवाहरुलाई प्रेरित गर्नुपर्छ ।’

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् शैक्षिक अभियन्ता जीवन गौतमले शिक्षालय स्थापनाका लागि निकै मेहनत गर्नुपरेको उल्लेख गर्दै यसको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘हामीले निकै मेहनत र संघर्ष गरेर कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरेका हौं,’ उहाँले भन्नुभयो, ‘दाङलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउने गरी हामीले काम गरिरहेका छौं ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हरेक विद्यालयमा प्राविधिक शिक्षा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले कक्षा ८ देखि नै विद्यार्थीहरुलाई रुचिअनुसारको प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवम् स्थानीय व्यक्तित्व विरकेश्वरी गौतमले शिक्षालयको स्थापनाले स्थानीय जनतामा निकै उत्साह थपिएको बताउनुभयो ।

शिक्षालयका प्रमुख मोतिलाल चौधरीले शिक्षालयमा हाल फरेस्ट्री, प्लान्ट साइन्स, आर्किटेक्चर, फार्मेसी, होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेर कुल आठ ओटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । हालसम्म वैदेशिक रोजगारी बोर्डबाट छोटो अवधिको तालिमबाट एक हजार छ सय एघार जनालाई सीपयुक्त तालिम दिइएको उहाँले जानकारी दिनुभयो । चौधरीका अनुसार प्रदेशबाट आर्थिक वर्ष २०७९/०८० मा कुल ८० जना र आर्थिक वर्ष २०८१/०८२ मा ६० जनालाई तालिम दिइएको छ ।

हालसम्म ६८५ जना डिप्लोमा तह उत्तीर्ण गरिसकेको चौधरीले बताउनुभयो । हाल शिक्षालयमा ६६८ जना विद्यार्थी अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘लुम्बिनी प्रदेशको नमुना शिक्षालयका रूपमा स्थापित यस शिक्षालयले रोल मोडेलको भूमिका निर्वाह गर्ने गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो योजना रहेको छ,’ शिक्षालय प्रमुख चौधरीले भन्नुभयो, ‘पिसिएल नर्सिङ र पिसिएल मिड्वाइफरी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं ।’

शिक्षालयका प्रशिक्षक सर्जन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशिक्षक केशरमान विसिले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *