लमही, ७ फागुन । लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले निजी तथा सरकारी सबै तहका विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई संस्कार र संस्कृतिका विषयमा शिक्षादिन जरुरी रहेको बताउनुभएको छ । बुधबार दाङ देउखुरीको लमहीस्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयको १७औँ वार्षिकोत्सव तथा विद्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक, संस्कारयुक्त र समाजमैत्री बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । प्रमुख अतिथि समेत रहनुभएका मन्त्री चौधरीले शिक्षा क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकारले नयाँ योजनाहरू अगाडि सारेको उल्लेख गर्दै शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय समन्वय तथा सहकार्यबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर उन्नत बनाउन सकिने बताउनुभयो ।
उहाँले विद्यालयहरू केवल किताबी ज्ञान प्रदान गर्ने संस्था मात्र नभई विद्यार्थीहरूलाई नैतिक मूल्य, संस्कार र संस्कृति सिकाउने थलोका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । समाजमा नैतिकता, इमान्दारीता र अनुशासनको कमी देखिन थालेको उल्लेख गर्दै उहाँले यसलाई सुधार गर्न विद्यालय स्तरबाट नै पहल गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई केवल परीक्षामा राम्रो अंक ल्याउने लक्ष्यमा मात्र केन्द्रित नराखी जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, संस्कार र संस्कृतिका व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै मन्त्री चौधरीले देउखुरी पब्लिक माध्यमिक विद्यालयले शैक्षिक समृद्धिमा नयाँ ढंगले फड्को मार्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बञ्जाडेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री चौधरीले विद्यालयको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमको सुरुवात ड्रोन उडाएर र विद्यालयको ताम्रपत्र अनावरण गर्दै गर्नुभएको थियो । नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रामप्रसाद गैरेले विद्यार्थीहरूलाई सकारात्मक संस्कार सिकाउने अभिभावकहरूको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । उहाँले विद्यालय मात्रै होइन, घरमा समेत अभिभावकहरूले राम्रो वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा देउखुरी होटल व्यवसायी संघका अध्यक्ष नारायण प्रसाद भुसाल, शिक्षाप्रेमी समाजसेवी शेरबहादुर चौधरी, रेडक्रस उपशाखा लमहीका ताराप्रसाद खनाल, एन प्याप्सन गढवाका अध्यक्ष तथा नेपाल बोर्डिङ स्कूल गोबरडिहाका प्रिन्सिपल निर्मल रावत, डिभेन बोर्डिङ स्कूल गोबरडिहाका प्रिन्सिपल भानुप्रसाद यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओम प्रकाश गुप्ता, सिधापत्र अनलाइनका प्रबन्धक मेघमन बुढालगायत दर्जनौँ व्यक्तित्वले विद्यालयको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न भेषभूषा झल्किने सांस्कृतिक नृत्य, तेक्वान्दो खेल तथा अन्य अतिरिक्त क्रियाकलापहरू प्रस्तुत गरेका थिए । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलिक लोककला प्रदर्शन गरेर कार्यक्रममा विशेष आकर्षण थपेको थियो । विद्यालयका प्रबन्धक तथा प्रिन्सिपल भूमण्डब केसीले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । विद्यालयका शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको वार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक सन्दीप खनालले गर्नुभएको थियो ।
मन्त्री चौधरीले समापन मन्तव्य दिँदै शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै परम्परागत मूल्य, संस्कार र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सभ्य, अनुशासित र सिर्जनशील नागरिक बनाउन शिक्षक, अभिभावक र सरकार सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।