दाङको समृद्धि एमाले नेतृत्वमा मात्रै सम्भव : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताउनुभएको छ । उहाँले एमाले सरकार बनेपछि अवरुद्ध विकासका योजना सुचारु भएको बताउँदै दाङको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) दाङले घोराहीमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लामो समयदेखि रोकिएका विकास योजनाहरू एमाले नेतृत्वको सरकार बनेपछि अघि बढ्न थालेको उल्लेख गर्नुभयो । उहाँका अनुसार घोराही–तुलसीपुर चारलेन सडकको निर्माण कार्य पुनः थालनी भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बी.बी.एस.को पठनपाठन सुरु भइसकेको छ । टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

सरकारले भूमि समस्या समाधानका लागि अध्यादेश ल्याएको जानकारी गराउँदै महासचिव पोखरेलले एमाले नेतृत्वमा मात्रै जनताका दीर्घकालीन समस्याहरू हल गर्न सकिने बताउनुभयो । उहाँका अनुसार जब एमाले सरकारमा आउँछ, तब जनताको चाहना अनुरूपका कामहरू अघि बढ्छन् ।

उहाँले सरकारले ल्याएका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने दाबी गर्दै ती अध्यादेशहरू संसद प्रक्रियाबाट पारित गराउन ढिलाइ हुने भएकाले सरकारलाई तत्काल निर्णय लिन आवश्यक परेको बताउनुभयो । उहाँका अनुसार ती अध्यादेशहरू संसद छल्न नभई जनताका लागि प्रभावकारी नीति कार्यान्वयन गर्न ल्याइएका हुन् ।

सरकारले ल्याएका अध्यादेशहरू पूर्ण रूपमा जनमुखी रहेको दाबी गर्दै महासचिव पोखरेलले ती जनविरोधी भए भन्ने प्रमाणित गर्न विपक्षी दललाई चुनौती दिनुभयो । उहाँले केवल विरोधका लागि विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै संसदमा आएर विधिसम्मत बहस गर्न आग्रह गर्नुभयो ।

एमाले नेतृत्वको सरकारले विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकता दिएको उल्लेख गर्दै महासचिव पोखरेलले दाङको समृद्धि सुनिश्चित गर्न एमाले सरकार अपरिहार्य रहेको बताउनुभयो । उहाँले दाङलाई आधुनिक र विकसित सहरका रूपमा रूपान्तरण गर्न एमाले नेतृत्व प्रतिबद्ध रहेको जनाउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *