मेरो नेतृत्वमा मुलुक समृद्धिको यात्रा देखेर कतिपय तत्त्वहरू डराएका छन् : ओली

घाेराही, ५ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको देखेर कतिपय तत्वहरू डराएको बताउनुभएको छ । उहाँले आफूलाई रोक्न षड्यन्त्र भइरहेको आरोप लगाउँदै देश बदल्ने नेतृत्व आफ्नो भएकाले कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

नेकपा (एमाले) दाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा देश समृद्धितर्फ अघि बढिरहेको छ । यही देखेर केही मान्छेहरू तर्सिएका छन् । समृद्धिको यात्रालाई रोक्ने षड्यन्त्र सुरु भएको छ । तर, देश बदल्ने जिम्मेवारी मेरो हो । मलाई कसैले रोक्न सक्दैन ।”

प्रधानमन्त्री ओलीले नेपाल अब ‘सुरुङ युग’ मा प्रवेश गरिसकेको उल्लेख गर्दै दाङमा पनि सुरुङ मार्ग निर्माण गरिने बताउनुभयो । “मैले हिजो सुरुङ मार्गको कुरा गर्दा कतिपय हाँस्ने गर्थे । तर, अहिले तिनै हाँस्नेहरू दङ्ग परेर हेर्ने गरेका छन्,” उहाँले भन्नुभयो, “भोलि नै यो हुन्छ भन्दिनँ । तर, लमही–घोराही सडक सुरुङ मार्ग बन्छ । यो मेरै नेतृत्वमा निर्माण हुन्छ ।”

दाङमा एयरपोर्टको आवश्यकताबारे आफू जानकार रहेको उल्लेख गर्दै उहाँले अहिले बजेट बिनियोजन नभए पनि आगामी वर्षका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । “यो साल बजेट परेको छैन । तर, आउँदो वर्षका लागि बजेट बिनियोजन गर्छौं । मेरै कार्यकालमा दाङ एयरपोर्ट बनाउँछु,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देशकै ‘सबैभन्दा ठूला लुटेरा’ को रूपमा चित्रण गर्नुभयो । उहाँले माओवादी नेतृत्वकै कारण देशको अर्थतन्त्र कमजोर बनेको आरोप लगाउँदै भन्नुभयो, “देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारको फाइल खोल्न खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भन्दै कुप्रचार गरिरहेका छन् । तर, प्रधानमन्त्रीसँग कुनै भ्रष्टाचारको फाइल हुँदैन । म पनि प्रधानमन्त्री छु, मसँग छ र ?”

उहाँले माओवादी नेतृत्वले विदेशी शक्तिको इशारामा काम गरिरहेको आरोपसमेत लगाउनुभयो । “विदेशी इशारामा चल्नेहरू किनारा लाग्छन् । जनताले तिनलाई अस्वीकार गर्छन्,” उहाँले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वकै कारण मुलुकको अर्थतन्त्र कमजोर बनेको बताउनुभयो । “अर्थतन्त्र खोक्रो बनाउने माओवादी नै हो । एमालेले अर्थतन्त्र बलियो बनाउँछ,” उहाँले दाबी गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *