राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरका उपमहानगरपालिकाहरु मध्य घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ ।
देशभरका ११ वटा उपमहानगरपालिका मध्य घोराही उपमहानगरपालिका कार्य सम्पादनमा प्रथम भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालिका ६६ दशमलब ९ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । वित्त आयोगले संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि यो कार्यसम्पादन सूचक तयार गरेको हुन्छ ।
आयोगको यो मूल्यांकनले प्रदेश र स्थानीय सरकारका क्षमता, वित्तीय पारदर्शिता, वित्तीय अनुशासन, विकास, सुशासनलगायत कार्यसम्पादनलाई इंगित गर्छ । यो सूचककै आधारमा आयोगले संघीय सरकारसमक्ष तल्ला सरकारलाई दिने अनुदान सिफारिस गर्ने आयोगका अध्यक्ष बालानन्द पौडेलले बताउनुभयो । आगामी आर्थिक वर्ष ०८२÷८३ का लागि संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि तयार गरिएको कार्यसम्पादन सूचकमा सबैभन्दा बढी अंक ल्याउने प्रदेश तर्फ सुदूरपश्चिम, महानगरमा चितवनको भरतपुर, उपमहानगर तर्फ दाङको घोराही, नगरपालिकामा डडेल्धुराको अमरगढी र गाउँपालिकामा धादिङको नेत्रावती डबजोङ रहेका छन् । कानुनअनुसार समयमै बजेट पेस गरे–नगरेको, तोकिएको समय, ढाँचामा बजेट पेस गरी पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेको, आवधिक योजना तय गरे–नगरेकोलगायत शीर्षकमा वित्त आयोगले अंक दिएको छ ।
त्यस्तै, खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या तथा आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्ट गरे–नगरेको आधारमा समेत अंक दिइएको हो । यसलाई आधार मान्दा प्रदेशहरूले नियम–कानुन तथा तोकिएका कर्याविधिलाई नअपनाएको तथा विकासका सूचाकांक कमजोर रहेको देखाउँछ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले केन्द्र सरकारले तल्ला तहमा दिने अनुदानको व्यवस्था गरेको छ ।
जसअनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ । आयोगले सम्बन्धित स्थानीय सरकार र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गर्छ । घोराही उपमहानगरपालिका जिल्लामा दोस्रो भएको छ । कार्यसम्पादन मूल्यांकनमा यस वर्ष जिल्लाका १० पालिका मध्य घोराही उपमहानगरपालिका दोस्रो भएको हो । दोस्रो भएको घोराही उपमहानगरपालिकाले ६६.९ अंक ल्याएको छ । राजश्व संकलन, आय–व्यय, बजेट खर्च, बेरुजु, सञ्चित कोष प्रणाली, स्वास्थ्य, खोप, विद्युत, शिक्षा, पूँजीगत खर्चलगायत १७ वटा सूचकका आधारमा आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।
नगर प्रमुख नरुलाल चौधरीले नगरले पाएको अधिकार र जिम्मेवारीलाई नतिजा देखाउने गरी काममा कुशलता पूर्वक खट्ने जनप्रतिनिधी तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ । सेवालाई विकास, संबृद्धी र नागरिक मैत्री बनाउन भूमिका खेल्ने सबैलाई नगर प्रमुख चौधरीले धन्यबाद दिदै थप मेहनत गर्न समेत अपिल गर्नुभएको छ ।