घोराहीमा लुम्बिनी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु

नवराज शर्मा

घाेराही, १ फागुन । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहिबारदेखि घोराहीमा प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

घोराहीको सालघारी बास्केटबल कोर्ड खेलमैदानमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पाँचवटा समूहले भाग लिएका छन् । प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले राष्ट्रलाई विश्वसामु चिनाउन खेलाडीहरूको भूमिका महत्वपूर्ण हुने । उहाँले खेल क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको स्पष्ट पार्नुभयो ।

मान्छेको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको भूमिका अतुलनीय हुने उल्लेख गर्दै मन्त्री चौधरीले गाउँ गाउँमा खेलको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ” खेलाडीहरू राष्ट्रका गहना हुन्, हामीले लुम्बिनी प्रदेशकाे खेल क्षेत्रको विकासका लागि खेलमैदान तथा खेलाडीहरूको क्षमता विकासमा ध्यान दिनुपर्नेछ,” उहाँले भन्नुभयो, ” नयाँ पुस्तालाई लागू औषद् दुर्व्यसनबाट बचाउनका लागि पनि खेलकुदले योगदान दिन सक्छ ।”

खेलले मानिसलाई अनुशासित बनाउन सहयोग पुर्‍याउने धारणा व्यक्त गर्दै चौधरीले विद्यालय स्तरमा पनि खेलका कार्यक्रमहरू बढाउनुपर्ने बताउनुभयाे ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरण गौतमले परिषद्ले खेलाडीहरू उत्पादनका लागि विभिन्न कामहरू गरिरहेको जानकारी दिनुभयो । उहाँले वर्षभरि नै कुनै न कुनै स्थानमा कुनै न कुनै प्रकारका खेलहरु भइरहने बताउनुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोकाले खेल क्षेत्रको विकासका लागि अझै पनि पर्याप्त बजेट नभएकाले बजेट वृद्धिमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन परिषद्का प्रशासन प्रमुख अमृत केसीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *