दाङ, २७ माघ । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले हिउँदे अधिवेशनबाटै गुठी पिडित किसानहरुको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
आइतबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले स्वर्गद्वारी गुठीलगायतका देशभरका गुठीपिडितहरुको समस्या समाधान गर्नका लागि तत्काल गुठी ऐन ल्याई यही अधिवेशनबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । विगतमा पनि स्वर्गद्वारी गुठीलगायत गुठी पिडितहरुको समस्या समाधान गर्न आफुले सरकारको ध्यानाकर्षण गराएको स्मरण गराउँदै सांसद पोख्रेलले वार्ताको माध्यमबाट गुठी पिडित किसानहरुको समस्या नदोहोरिने गरि समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद पोख्रेलले अहिले पनि स्वर्गद्वारी गुठि पिडितहरु माइतीघर मण्डलामा आन्दोलनरत रहेको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वर्गद्वारी गुठीपिडित किसानहरुले सरकारसँग आफ्ना माग पूरा गर्न भन्दै काठमाडौं र दाङमा आन्दोलन जारी राखेकाछन् ।