चेतना अनलाइन
तुलसीपुर, २६ माघ । नेकपा (एमाले) का केन्द्रीय पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरीले जनतालाई सार्वभौम बनाउन सहिद उमेशचन्द्र थापाको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समन्वय समितिको बैठक तथा लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १९औँ स्मृति दिवसका अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दोस्रो जनआन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाका कारण नै देशमा गणतन्त्र स्थापना भएको दाबी गर्नुभयो ।
समन्वय समितिका संयोजक मेघराज भुसालको अध्यक्षता एवं पोलिटब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । सो अवसरमा केन्द्रीय सदस्य एवं क्षेत्रीय इञ्चार्ज कोमल वलीले नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा यहाँका जनता उत्साहित रहेको बताउनुभयो ।
बैठकमा बोल्दै जिल्ला अध्यक्ष शिवकुमार आचार्यले नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउनु यहाँका जनताका लागि अवसर र उपलब्धिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, उपाध्यक्ष मनोहर बुढाथोकीले नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्तालाई फागुन ५ गतेको कार्यक्रमलाई केन्द्रित गरी लाग्न आग्रह गर्नुभयो ।
बैठकमा केन्द्रीय सल्लाहकार सदस्य ढुण्डिराज लामिछाने, स्थानीय विभागका सदस्य विकिरण गौतम, प्रदेश समिति सदस्य रामजी चौधरी, कृष्णप्रसाद भुसाल, सीमा न्यौपाने, जिल्ला सचिव स्याम डाँगी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीलगायत नेताहरूको सहभागिता रहेको थियो । उपसंयोजक एम. एन. शाहको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव टेकबहादुर केसीले गर्नुभएको थियो ।