प्रधानमन्त्री र विपक्षी दलको नेता हुँदाको ‘प्रचण्ड’ अभिव्यक्तिमा गम्भीर आशंका : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा असन्तुलित अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

महासचिव पोखरेलले “विगतमा आफू प्रधानमन्त्री भएका बेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गर्नुभएका ‘प्रचण्ड’ ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै हो” भन्नुभएको छ ।

सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता प्रचण्डले बिहीबारको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री र अहिले विपक्षी दलको नेता रहेका ‘प्रचण्ड’ एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ ।

यस्तै, उहाँले थप लेख्नुभएको छ, “सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन ।”

तर आफ्नै मान्यताका विपरीत ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल नियमनसम्बन्धी संसदमा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ? भन्ने महासचिव पोखरेलले प्रश्न गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *