माघ २३, घोराही । नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ । बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने संकल्प गरेको छ । बैठकले घोराहीमा हुने विशाल जनसभा व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिव कुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।
त्यस्तै, जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, जिल्ला सचिव स्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख सङ्गीत बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षता एवम् केन्द्रीय पोलिटब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जनसभामा दाङका १० वटै पालिका र १०० वटै वडा कमिटी तथा अनेमसंघ, अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, राष्ट्रिय अपांग महासंघ, लोकतान्त्रिक मगर संघ, लोकतान्त्रिक थारु संघ, नेपाल जातीय मुक्ति समाज, नेपाल राष्ट्रिय व्यावसायिक महासंघ, नेपाल राष्ट्रिय खेलकुद महासंघ, बुद्धिजीवी परिषद्, भूमि तथा सुकुम्बासी महासंघ, पेशागत महासंघ, प्रेस चौतारी, प्रगतिशील मानव अधिकार एलायन्स, नेपाल मुस्लिम इत्तिहाद संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल पिछडाबर्ग, राष्ट्रिय शिक्षक संगठनलगायतका सम्पूर्ण जनवर्गीय संगठनहरू सबै आ-आफ्नो पेशागत झाँकी, जुलुस र पोसाकसहित र्यालीमा सहभागी हुन निर्देशन दिएको छ ।
जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले माघ २५ गते १० वटै पालिका कमिटीको बैठक बस्ने, माघ ২৬ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बस्ने र माघ २७ गते प्रदेश सभा समन्वय कमिटीको बैठक बसेर फागुन ५ गतेको जनसभालाई थप व्यवस्थित र योजनाबद्ध गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यसँगै दाङका १० वटै पालिका कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकले दाङका घाेराही, तुलसीपुर लमही क्षेत्रमा स्वर्गद्वारी गुठी माेही पीडित किसानहरूले काठमाडौँमा गरिरहेको सङ्घर्षको पूर्णरूपमा ऐक्यबद्धता जनाएको छ ।
बैठकले भूमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटीका पूर्वअध्यक्ष हुकुम बस्नेत मन्त्रीपरिषद् बैठकबाट मनोनयन भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै, २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख अतिथि पोलिटब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली दाङ आउने अवसरलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभयो । “प्रधानमन्त्री दाङ आएर सम्बोधन गर्ने कुराले यहाँको विकास र समृद्धिमा ठूलो टेवा पुग्छ । यस कुरालाई महत्व दिई आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।” उहाँले भन्नुभयो ।
दाङले विकासको लय समातेको भन्दै घोराही उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका नेता चौधरीले अनावश्यक राजनीति गरेर विकासको गतिलाई अवरुद्ध नगर्न सम्बन्धित राजनीतिक दलहरूलाई अनुरोध गर्नुभयो । बैठकमा जिल्ला अध्यक्ष शिव कुमार आचार्यले हालसम्म भएका कार्यहरू र आगामी योजनाहरू प्रस्तुत गर्नुभयो । उहाँले तत्काललाई फागुन ५ गतेको कार्यक्रम र त्यसपछि मिसन ८४ लाई ध्यानमा राखी कार्यमा केन्द्रित हुन निर्देशन दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरू जीवन गौतम, घनश्याम पाण्डे, भगवत विश्वासी, कोमल वली, सीता सिग्देल, साजिदा सिद्दिकीसहितका नेताहरूको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण जिल्ला सचिव स्याम डाँगीले गर्नुभएको थियो ।








