प्रेस युनियन दाङको साधारणसभा

गणतन्त्र समाचारदाता

माघ १८, दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयक खारेज हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले नागरिकलाई सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्नेभन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएको भन्दै खारेजी हुनुपर्ने धारणा राख्नुभयो ।

नेपालको संविधानले प्रदत्त गरेका कानुनका माध्यमबाट सामाजिक सञ्जाललाई मर्यादित बनाउने पर्याप्त उपायहरू रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी जबरजस्ती कानून ल्याएमा त्यसको पूर्णरूपमा अवज्ञा गरिने र सबै पत्रकारहरू सडकमा आउने चेतावनी दिनुभयो ।

फौजदारी कानुन ल्याएर विरोधका स्वरहरू दबाउने सरकारको सोच देखिएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष पोख्रेलले व्यक्ति हत्या गर्ने अपराधीलाई जस्तै गरी दोषी करार गर्ने मनसाय लोकतान्त्रिक सरकारको असल अभ्यास भित्र नपर्ने बताउनुभयो । उहाँले यो वा त्यो बाहानामा कानुन ल्याउने कुरा जायज नभएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चार संगठनहरू बलियो हुन सके मात्र पत्रकार महासङ्घ बलियो हुनसक्ने बताउनुभयो। उहाँले पत्रकारहरु बीचको एकता अहिलेको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा. सुदीप गौतमले सञ्चार क्षेत्रलाई नियमन गर्ने विधेयक सरोकारवालाहरूसँगको सरसल्लाह र सुझावबिना ल्याएर सरकारले स्वेच्छाचारी ढंगले अगाडि बढेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले पत्रकारहरूको सुरक्षाका लागि प्रदेश समितिले पत्रकार कल्याणकारी कोष घोषणा गरेको उल्लेख गर्दै त्यसलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यहरू देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी,  प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्याब्सन दाङका सचिव आदिम के.सी. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चार संस्था र सञ्चारकर्मीको मनोबल उच्च राख्ने गरी काम गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै, यसको खबरदारी सञ्चार संघसंस्थाहरूले गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

साधारणसभामा नेपाल प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लीलाधर वलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई बन्द सत्रले सभासदहरूबाट आएका सुझावहरू समेटी पारित गरेको छ । साधारणसभाले नेपाल प्रेस युनियनमा पनि शुद्धीकरण आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा शुद्धीकरण अभियान अगाडि बढाउने निर्णय गरेको छ ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष गोपाल शर्मा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष किरण विक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साधारणसभाको सहजिकीकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *