घोराही उपमहानगरपालिका स्तरीय १७ औँ राष्ट्रिपती रनिङशिल्ड प्रतियोगिता शुरुभएको छ ।
वडा नम्बर २ स्थित गंगा मावि रामपुरले यसबर्षको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकुद मानव जीवनमा अपरिहार्य भएको बताउनुभयो । उहाँले खेल क्षेत्र आर्थिक, सामाजिक र मानविय विकासको आधार भएको चर्चा गर्नुहुदै स्थानीय सरकार घोराही उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
खेलकुद विकास समिति गठन गरेर खेल क्षेत्रलाई अघि बढाउन चाहेको उहाँको भनाई छ । विद्यालय तहबाटै खेलकुदका बारेमा विद्यार्थीहरुलाई जानकार गराउनुका साथै खेलहरुमा सहभागि बनाउने गरि नगरले खेलकुद शिक्षकको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख चौधरीले खेल क्षेत्रमा घोराहीका युवाहरुको आकर्षणले आफु निकै हर्षित र उत्साहित भएको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेले खेल क्षेत्रबाटै एकता र स्वस्थता कायम हुने बताउनुभयो । नगरले भौतिक पूर्वाधार विकास सँगै मानविय विकासमा पनि प्राथमिकता दिएको उल्लेख गर्नुभयो । विद्यालयका प्रधानाध्यापक शशिधर उपाध्यायको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरी, नेपाली कांग्रेसका नारायण थापा, नेकपा एमालेका टोपेन्द्र डाँगी, माओबादी केन्द्रका सुरेन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद डिसी, मावि डाँडागाउँ गोग्लीका प्रधानाध्यापक राजेन्द्र घिमिरेले खेलकुदको सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक श्रीमन न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न विद्यार्थीहरुले मार्चपास सँगै नृत्य प्रस्तुत गरेका थिए । यही माघ २१ गते सम्म चल्ने प्रतियोगितामा ५ विधाहरु उसु, एथलेक्टीस, कराँते, तेक्वान्दो र भलिबल खेलहरु हुने छन् ।








