भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यामा छलफल

घाेराही, १४ माघ । भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको लालपूर्जा प्रदान गर्ने विषयमा नगर कार्यपालिका सदस्यहरु, भूमि समस्या समाधान केन्द्रिय आयोगका अध्यक्ष, जिल्ला अध्यक्ष र विभिन्न राजनीतिक दलहरुका प्रतिनिधीहरु बिच भूमि समस्या समाधानका बिषयमा छलफल भएको छ ।

घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमि आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजाल, सदस्य अनिलकृष्ण प्रसाई, विज्ञ सदस्य जगत बस्नेत, भूमि समस्या समाधान आयोजका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, नगरका सल्लाहकार अरुणकुमार शर्मा, नेपाली कांग्रेसका उपसभापती गिरीराज सुबेदी, नेकपा एमालेका प्रदेश सदस्य हेमराज बन्जाडे, नेकपा माओबादी केन्द्रका सचिब विश्वराज आचार्य, रास्वपाका प्रतिनिधी शोभाराम खनाल, मालपोत कार्यालयका प्रमुख देविबहादुर भण्डारी, नापी कार्यालयका प्रमुख पुरण चौधरीको सहभागिता रहेको थियो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका केन्द्रिय अध्यक्ष हरि रिजालले जति सक्यो छिटो भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको लालपूर्जा दिने गरी काम भैरहेको बताउनुभयो । त्यसका लागि वडा तहबाटै स्थानीय सरकारको चासो, भूमिका र सकृयता हुनुपर्ने बिषय रहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले देखाएको चासो र गरेको कामले अब छिट्टै सार्थकता पाउने उहाँको भनाई छ । जिल्ला अध्यक्ष हुकुम बस्नेतले सबै क्षेत्रको समन्वय र सहकार्यबाटै भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिका भित्र भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको नापजाँच वडा नम्बर १ बाट सुरुभएको बताउनुभयो । जतिसक्यो छिटो भूमि समस्या समाधान गर्नका लागि आयोगले आफ्नो कामहरु अघि बढाउनु पर्ने र स्थानीय सरकारले गर्नुपर्ने कामलाई कुनैकसर बाँकी नराख्ने बताउनुभयो ।

नगर उपप्रमुख हुमाकुमारी डिसीले लामो समय देखि भूमिको समस्या समाधान हुन नसकेको भन्दै यो आयोगले भूमिहिन सुकुम्बासीलाई न्याय दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । घोराही उपमहानगरपालिकाले अहिले सम्म भूमिहिन दलित तर्फ १९ सय ८०, भूमिहिन सुकुम्बासी तर्फ ३ हजार १२ र अव्यवस्थित बसोबासी तर्फ ११ हजार ३ सय ४० गरि १६ हजार ३ सय ३२ जनाको निबेदन कम्प्युटरमा समाबेश गरिसकेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यक्रममा जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *