लुम्बिनी प्रदेश सरकार पारदर्शिताको पक्षमा दृढ : मुख्यमन्त्री आचार्य

पाण्डव शर्मा

दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी, जवाफदेही र जनउत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका सम्बन्धमा जनताले जानकारी पाउनु अनिवार्य अधिकार भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार प्रवक्ता र सूचना अधिकारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासन, छरितो सेवा प्रवाह र भ्रष्टाचार न्यूनीकरणका लागि सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले जनताका हक र अधिकारलाई सुनिश्चित गर्दै सूचना प्रवाहलाई व्यवस्थित बनाउन राज्यका सबै निकायले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रत्येक गतिविधि पारदर्शी बनाउनु आवश्यक रहेको बताउँदै सरकारप्रति जनताको विश्वास कायम राख्न पारदर्शिता र उत्तरदायित्व नै मुख्य आधार भएको धारणा राख्नुभयो । “हामीले गरेका हरेक काम स्पष्ट हुनुपर्छ । जनताले सरकारका गतिविधिलाई छर्लङ्ग देख्न पाउनुपर्छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

मुख्यमन्त्रीले प्रदेश सरकारका गतिविधिहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सूचनाको माग गर्दा हुने ढिलासुस्ती र आलटालको प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । उहाँले सूचना प्रवाहलाई सहज र छरितो बनाउँदै जनताको विश्वास जित्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार मुख्यमन्त्री कार्यालयबाट सूचना अधिकारी तोक्ने प्रक्रिया सुरु भइसकेको छ, र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनताको सहभागिता पनि सुनिश्चित गरिनुपर्छ ।

कार्यक्रममा बोल्दै उहाँले सूचना व्यवस्थापनलाई सुधार्ने कार्यले सरकारलाई सच्चिन र सुधार गर्न अवसर दिने उल्लेख गर्नुभयो । सूचना दिन अप्ठ्यारो महसुस नगर्न र जनताका सवाललाई सम्बोधन गर्न सबै तहका अधिकारीहरू जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । “हामी जनताको ऐना हौं । हाम्रा सबै काम जनताले देख्न पाउनुपर्छ,” उहाँले भन्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागी अधिकारीहरूले सरकारी कार्यलाई पारदर्शी बनाउँदै जनताका अपेक्षाहरू पूरा गर्न आफुहरू गम्भीर हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धनको लागि सरकारले पाँच वर्षे योजना अघि सारेको जानकारी दिँदै यस योजनालाई प्रभावकारी बनाउनेतर्फ सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले जनताको विश्वास जित्न सरकारी कामकाजमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता सुनिश्चित गर्न सबै अधिकारीहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका सबै गतिविधि पारदर्शी भए मात्रै जनताले सरकारमाथि विश्वास गर्ने र त्यसबाट सुशासनका आधारहरू बलियो हुने विश्वास व्यक्त गर्दै उहाँले सरकारको सम्पूर्ण प्रयास जनताप्रति केन्द्रित रहनुपर्ने धारणा राख्नुभयो । जनताको विश्वासलाई प्राथमिकतामा राखेर सरकारले अघि सारेका योजनाहरू सफल बनाउन सबै तह र क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *