पाण्डव शर्मा
घोराही, २ पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशमा लगानी मैत्री वातावरण तयार भएको बताउनुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हालको आर्थिक अवस्थाबारे सरकारका उपलब्धिहरू प्रस्तुत गर्दै निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले देशमा मूल्यवृद्धि घटेको, बैंकको व्याजदर कम भएको, विदेशी मुद्रा सञ्चिति बढेको, राजस्व संकलन सुधार भएको र अर्थतन्त्र उल्लेखनीय रूपमा मजबुत भएको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले व्यवसायीहरू अझै उत्साहित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भविष्यको चिन्ताले उनीहरूलाई रोक्न नहुने र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले दाङ जिल्लाका सडक र पूर्वाधार विकासबारे पनि जानकारी गराउनुभयो । घोराही-तुलसीपुर सडक विस्तारको कामलाई सरकारले बजेट सुनिश्चित गरेर अघि बढाएको र फोर लेन सडक निर्माणको कामले उपलब्धि हासिल गर्दै अघि बढिरहेको उहाँले बताउनुभयो । लमही-घोराही सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षमा यसको टेण्डर प्रक्रिया सुरू हुने बताउनुभयो । मसोट खोला क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गरी आउने र जाने दुईवटा पुल निर्माण गरिने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो ।
टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको र विमानस्थललाई थप व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उल्लेख गर्दै अब जग्गा नामसारीका लागि पहल गर्नुपर्ने र त्यसपछि डीपीआर निर्माण हुने जानकारी दिनुभयो । साथै, दाङमा इन्धन डिपो स्थापना गर्ने प्रक्रिया अघि बढेको र यसले पेट्रोल पम्पहरूले नेपालगन्जबाट इन्धन ल्याउनु पर्ने बाध्यता अन्त्य गर्ने पनि उहाँले बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई विशेष प्राथमिकता दिँदै महासचिव पोखरेलले शैक्षिक कार्यक्रम सुरू भएसँगै यहाँको शिक्षा र स्वास्थ्य सेवामा ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले चार सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै केही वर्षभित्र प्रतिष्ठानले उल्लेखनीय सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि ल्याइएको अध्यादेशबारे पनि चर्चा गर्नुभयो । उहाँले यो अध्यादेश भूमिहीन तथा सुकुम्बासीहरूको समस्या समाधान गर्न लक्ष्यित रहेको र राष्ट्रपतिबाट छिट्टै जारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रभावकारी बनाउने र लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको बताउनुभयो ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विकास वलीले गर्नुभएको थियो ।