सिँचाइले किसानको जीवनस्तर उकास्नु हाम्रो प्रमुख लक्ष्य हो – मन्त्री सीता शर्मा चौधरी

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ का विभिन्न सिँचाइ परियोजनाको अनुगमन गर्नुभएको छ।

सिँचाइ सुविधा सञ्चालनमा आएपछि किसानहरूले पहिले वर्षमा एकपटक मात्र बाली लगाउने जमिनमा अहिले चारपटकसम्म बाली उत्पादन गर्न सफल भएका छन्। स्थानीय किसानका अनुसार पहिले बालुवा मात्रै भएको जमिनमा गहुँ, धान, मकै, तोरी र बदाम जस्ता बाली फल्न थालेका छन्।

अनुगमनका क्रममा मन्त्री चौधरीले भन्नुभयो, “हामी किसानको जीवनस्तर उकास्न सिँचाइ व्यवस्थालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। पहिले उपयोगमा आउन नसकेको जमिनलाई सिँचाइ सुविधा पुर्‍याएर खेतीयोग्य बनाउनु र किसानलाई उत्पादनशील बनाउन सहयोग गर्नु हाम्रो मुख्य उद्देश्य हो। सरकारले किसानका समस्या समाधान गर्न थप योजनाहरू अघि सार्नेछ। यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने छ।”

स्थानीय किसान राजेन्द्र बिकले सिँचाइ परियोजनाको महत्व बताउँदै भन्नुभयो, “पहिले एउटा मात्रै बाली लगाउँथ्यौं, अहिले चारवटा बाली उत्पादन गर्न सकेका छौं। उत्पादन धेरै बढेको छ।” अर्का किसान उपेन्द्र कुमार बर्माले थप आउटलेट र डेलिभरी पाइपको माग गर्दै यसले सिँचाइलाई अझ सहज बनाउने बताएका छन्।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बाँकेका अनुसार, जिल्लामा हाल ६० वटा डिप ट्युबवेल सञ्चालनमा छन्, जसले हजारौं बिघा जमिन सिंचित बनाएको छ। यी परियोजनाको सफलताले डुडुवाको कृषि क्षेत्रलाई हराभरा बनाउँदै किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *