यसरी हुँदैछ घोराही कालोपत्रे युक्त नगर, सात वर्षमा १ सय ७० किमि कालोपत्रे

पाण्डव शर्मा

घोराही, ८ पुस । घोराही उपमहानगरपालिकाले सडक कालोपत्रेको कामलाई तीब्रता दिएको छ । पछिल्लो सात वर्षमा घोराहीका विभिन्न क्षेत्रमा कुल १ सय ७० किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

पहिलो चरणमा वडा कार्यालयबाट उपमहानगरपालिका जोड्ने सडक र बजार क्षेत्रका सडकहरुलाई धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । हालसम्म वडा नं १९ बाँहेकका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे भइसकेको घोराही उपमहानगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । १९ नं वडा कार्यालयमा पुग्नका लागि पनि कालोपत्रेको काम भइरहेको छ ।

वडा नं १२ मा स्थानीय विवादका कारण छोटो दूरीमा कालोपत्रे भइसकेको छैन । स्थानीय विवाद मिलाएर कालोपत्रेको काम गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ठेक्का प्रक्रिया र उपभोक्ता समितिहरुमार्फत सडक कालोपत्रेको काम गरिरहेको मेयर चौधरीले जानकारी दिनुभयो । स्थानीयहरुको लागत सहभागितमा गरिने कालोपत्रेका लागि उपभोक्ता समिति मार्फत र सरकारको लागतमा सञ्चालन हुने सडक अयोजनालाई ठेक्का मार्फत काम भइरहहेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ सालमा १८ दशमलव ३७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । आव २०७५÷०७६ मा १४ दशमलव ५३, आव २०७६÷०७७ मा ३३ दशमलव ४५ किमि, आव २०७७÷०७८ मा ३५ दशमलव ४८ र आव २०७८÷०७९ मा ३८ किमि सडक कालोपत्रे गरिएको छ । त्यसैगरी आव २०७९÷८० मा १० किमि र आव २०८०÷०८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ७ वर्षमा कुल २ सय १७ दशमलव २५ किमि सडकको ग्राभेल तथा स्तारोन्नतीको काम गरिएको छ । त्यसैगरी १ सय ६८ किलोमिटर स्थानीय नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ ।

उपमहानगरपालिकाका मेयर चौधरीले सडक सञ्जाल विकासको पूर्व आधार भएकाले आँफूले पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । ‘सडक सञ्जाल विकासको मेरुदण्ड नै हो,’ उहाँले भन्नुभयो, ‘सडक सञ्जाल विस्तारपछि अरु विकासका आधारहरु तयार गर्न सकिन्छ ।’ सडक सञ्जाल विस्तारले स्थानीय कृषकहरुलाई आफ्नो उत्पादन बजार सम्म ल्याउन निकै सहयोग पुगेको चौधरीले बताउनुभयो ।

उपमानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत ऋषिराम केसीले अहिले वडा नं १४ र १५ लाई शहरी क्षेत्र भनेर निर्धारण गरिएको छ । यी दुई वडामा भित्रि सडकहरु पनि कालोपत्रे भइरहेको छ । ‘क्रमशः हामीले ग्रामीण क्षेत्रका सडक खण्डहरुपनि कालोपत्रे गर्ने छौं,’ उहाँले भन्नुभयो, ‘दामोदर सडक खण्ड अन्तर्गतका सडकहरु कालोपत्रेको हाम्रो पहिलो प्राथमिकतामा छन् ।’ सडक वोर्डमार्फत सडकहरुमा मर्मत सम्भारको काम पनि भइरहेको छ ।

घोराहीमा पछिल्ला वर्षहरुमा धेरै सडकहरुको कालोपत्रे भएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नाला सहित कालोपत्रेको काम गरिरहेको छ । नाला सहित कालोपत्रे गर्दा ढल निकासमा पनि सहयोग पुग्ने केसीले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *