चेतना अनलाइन
घाेराही, ७ पुस । लामो समयसम्म अलपत्र परेको घोराही-तुलसीपुर सडकखण्ड चार लेन विस्तारको काममा देखिएकाे अन्याेलता अन्त्य भएर नेपाल सरकारकै बजेटमा सडक विस्तारको प्रक्रिया अघि बढे जस्तै दाङमा कहाँ विमानस्थल बनाउने ? भन्ने कुराकाे अन्योलता हटेको छ ।
दाङको मूल नेतृत्व तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै विस्तार गर्ने गरी प्रक्रिया अघि बढाउन अग्रसर भएको छ ।
आज मात्रै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र पूर्व सिँचाई मन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका नेता दीपक गिरीले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेयलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गकाे स्तरउन्नतिका लागि छलफल गर्नुभएको छ ।
सो भेटमा उहाँहरुले विमानस्थलको धावन मार्ग विस्तारका लागि लाग्ने बजेट, आवश्यक जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभएको छ ।
उहाँहरुले मन्त्रीलाई डिपिआरको विस्तृत रिपोर्ट पनि पेश गर्नुभएको छ । नेताहरूको छलफलपछि मन्त्री पाण्डेयले विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजनको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
पूर्व मुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेलले दाङको विकासका लागि विमानस्थल अपरिहार्य भएको उल्लेख गर्दै टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार तत्काल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले दाङको विकासका लागि यहाँ रहेका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, अन्य सरोकारवाला निकाय एवं आम सर्वसाधारण बीच साझा धारणा हुनुपर्ने बताउनुभयो ।
छलफलमा मन्त्रालयका सचिव, प्राधिकरणका डिजी, मन्त्रालयका योजना प्रमुख लगायतकाे उपस्थिति रहेको थियो ।