नेपाली विद्यार्थी आन्दोलन : नेतृत्व, चुनौती र सम्भावनाहरू

हिमाल महरा क्षेत्री

विगतदेखि वर्तमानसम्म नेपाली समाजमा भएका सकारात्मक परिवर्तनहरू विभिन्न ठूला राजनीतिक आन्दोलनहरूमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले राष्ट्रिय राजनीति, सामाजिक न्याय, मानव अधिकारलगायतका क्षेत्रमा अतुलनीय योगदान दिएको छ । विद्यार्थीहरू केवल शैक्षिक क्षेत्रमा मात्र नभई देशको राजनीतिक र सामाजिक परिवर्तनका वाहकका रूपमा पनि स्थापित भएका छन् । नेपाली विद्यार्थी आन्दोलनको जरो राणा शासनकालदेखि नै देखिन्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीहरूले राजनीतिक स्वतन्त्रताको आवाज उठाएका थिए ।

प्रजातन्त्र स्थापना पश्चात पनि नेपालमा शिक्षाको क्षेत्रमा सीमित पहुँच मात्र रहेको थियो । त्यो समयमा सीमित व्यक्तिहरूले मात्र उच्च शिक्षा प्राप्त गर्न सक्थे । यद्यपि, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि पञ्चायती व्यवस्था सुरु गरे । त्यसपछि २०२८ सालमा भएको विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थाविरुद्ध ठूलो जनमत तयार पारेको थियो । यसैको जगमा २०४६ सालमा भएको जनआन्दोलनबाट नेपालमा प्रजातन्त्र पुनर्स्थापित भएको थियो । उक्त आन्दोलनमा विद्यार्थी संगठनहरूको मुख्य भूमिका रहेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध लड्न र आन्दोलन सफल पार्न विद्यार्थी नेतृत्वको अहम भूमिका रहेको थियो ।

राजतन्त्रको अन्त्य तथा गणतन्त्र स्थापनाका लागि २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा विद्यार्थीहरूको सक्रियता ऐतिहासिक रह्यो । त्यसबेला विश्वविद्यालय र क्याम्पसहरू आन्दोलनका प्रमुख थलो बनेका थिए ।

विद्यार्थी नेतृत्वको भूमिका
नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको भूमिका सदैव महत्वपूर्ण रहँदै आएको छ । देशमा भएका ठूला राजनीतिक परिवर्तनहरूमा विद्यार्थी नेताहरूले विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेलेका छन् । शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि दबाबमूलक गतिविधि सञ्चालन गर्ने, समाजमा रहेका विकृति(विसङ्गतिविरुद्ध आवाज उठाउने, जातीय समानता, लैङ्गिक समानता र शिक्षाको स्तर सुधारजस्ता मुद्दामा विद्यार्थी नेतृत्व अग्रणी रहँदै आएको छ ।

जननेता मदन भण्डारी, बीपी कोइराला, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवालगायत शीर्षस्थ नेताहरू पनि विद्यार्थी आन्दोलनबाट आएका हुन् । इतिहासका विभिन्न कालखण्डमा वामपन्थी, मध्यमार्गी र स्वतन्त्र विद्यार्थी नेतृत्वले आन्दोलनलाई अगाडि बढाएका थिए ।

तर पछिल्लो समय विद्यार्थी नेतृत्व शैक्षिक मुद्दाभन्दा राजनीतिक स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

विद्यार्थी आन्दोलनका चुनौतीहरू
पछिल्लो समय विद्यार्थी आन्दोलनले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । विद्यार्थी संगठनहरू ठूला राजनीतिक दलका सहयोगी संस्था बन्न पुगेका छन् । विद्यार्थी नेताहरू शैक्षिक मुद्दाहरू छोडेर व्यक्तिगत स्वार्थमा लाग्ने, संगठनभित्रै गुटबन्दी र विवाद गर्ने तथा स्वतन्त्र निर्णय लिन असक्षम भएका कारण आन्दोलन कमजोर बन्दै गएको छ ।

देशव्यापी रूपमा शिक्षामा भइरहेको व्यापक निजीकरण र ब्रह्मलुटका बेला विद्यार्थी संगठनहरू मुखदर्शक मात्र बनेका छन् । अझ भनौँ, पछिल्लो पुस्ताका विद्यार्थीहरूमा ग्लोबलाइजेसन र आधुनिक प्रविधिको प्रभावले उनीहरू राजनीतिक र सामाजिक आन्दोलनभन्दा व्यक्तिगत भविष्यप्रति बढी केन्द्रित देखिन्छन् ।

विद्यार्थी आन्दोलनका सम्भावनाहरू
गुणस्तरीय र सीपमूलक शिक्षा, पाठ्यक्रममा सुधार तथा शिक्षामा सबै विद्यार्थीको पहुँच वृद्धि गर्न विद्यार्थी नेतृत्वले प्रभावकारी योजना र नीति ल्याउन जरुरी छ । जातीय, लैङ्गिक र क्षेत्रीय असमानताहरूलाई सम्बोधन गर्दै समावेशी शिक्षा र समानताको पक्षमा सोच्नुपर्छ ।

आन्दोलनलाई प्रभावकारी बनाउन डिजिटल मञ्च र प्रविधिको प्रयोग गरी शैक्षिक मुद्दाहरूलाई व्यापक जनमानसमा पुर्याउन आवश्यक छ । संगठनका नेतृत्वले राजनीतिक दलको प्रभावभन्दा माथि उठेर वास्तविक विद्यार्थीको अवस्था र समस्या प्राथमिकतामा राख्नुपर्छ ।

अबको विद्यार्थी आन्दोलन परम्परागतभन्दा फरक, रचनात्मक र समसामयिक शैक्षिक बहस, बेरोजगारी, शिक्षा, प्रविधि, जलवायु परिवर्तन र सामाजिक विकासका मुद्दामा केन्द्रित हुनुपर्छ ।

निष्कर्ष
नेपाली विद्यार्थी आन्दोलनले देशको राजनीतिक, सामाजिक र शैक्षिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर वर्तमानमा यस आन्दोलनले विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको छ । नेतृत्वको पारदर्शिता, उद्देश्यको स्पष्टता र दलगत प्रभावबाट माथि उठेर वास्तविक विद्यार्थी समस्यालाई उजागर गर्न आवश्यक छ ।

यदि विद्यार्थी संगठनहरूले शैक्षिक सुधार, सामाजिक न्याय र आधुनिक प्रविधिको प्रयोगमा ध्यान केन्द्रित गर्न सके भने यी आन्दोलनहरूले भविष्यमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । नेपाली विद्यार्थी आन्दोलन केवल इतिहासको हिस्सा मात्र होइन, यो मुलुकको भविष्य निर्माणको आधार पनि हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *