चेतना अनलाइन
घोराही, २ पुस । घोराही उपमहानगरपालिकाको वडा नम्बर २ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ ।
नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नम्बर २ को झुले डाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरुभएको भएको हो । घोराही लमही सडक खण्डको बेलदमार देखि उत्तर पूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुदा नागरिकहरुले सञ्चार सेवा उपभोग गर्न निकै समस्या भएको थियो ।
नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपैयाँ लगानी गरेर झुले डाँडामा टावर स्थापना गरिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम गरि मंगलबार बाट चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउदै सञ्चार सेवा प्रयोगमा नागरिकहरुलाई जोड्न सफल भएको बताउनुभयो ।
चाक्लीघाटबाट झुले डाँडामा विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । विकट चाक्लीघाटलाई सुगमता सँग जोडन स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताउनुभयो । त्यसैगरी, नेपाल टेलिकम काठमाडौका बरिष्ठ अधिकृत केशबराज देवकोटाले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्नका लागि केही बर्ष पहिले देखि नै गर्दै आएको र अहिले संयुक्तरुपमा काम सम्पन्न भएको बताउनुभयो ।
नेपाल टेलिकम राष्ट्रनिर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले आफुहरुको जिम्मेवारी अनुसार स्थानीय सरकार सँग मिलेर चाक्लीघाटका जनतालाई सञ्चारको पहुँचमा जोड्न सफल भएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवा सँगै स्थानीयहरुलाई निशुल्क नमस्तेको प्रिपेड सिम वितरण गरिएको जानकारी दिनुभयो । यसैगरी, स्थानीय विरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर नागरिकहरुको अधिकारलाई सुनिश्चित गरेको प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण वडा सदस्य तथा स्थानीय टोपबहादुर डाँगीले गर्नुभएको थियो ।