ऊर्जा मन्त्रालयकाे समीक्षा, प्राथमिकताको आधारमा बजेट विनियोजन : मन्त्री चौधरी

नवराज शर्मा

भालुबाङ, २० मंसिर । लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना गरेको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी बिहिबार सम्पन्न भएको छ । बैठकले विकास योजनाहरूलाई समयमै सम्पन्न गर्न र समस्याहरूलाई समाधान गर्नका लागि ठोस निर्णयहरू गरेको छ ।

गोष्ठीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरीले विकास योजनाहरूलाई समयमै सम्पन्न गर्न जोड दिँदै सबैले बृहत योजना बनाएर काम गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने र योजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन सबै तह र निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का वार्षिक विकास कार्यक्रम अन्तर्गत खरिद प्रक्रियामा जान बाँकी रहेका योजनाहरूका लागि मंसिर २५ भित्र बोलपत्र वा दरभाउपत्र आह्वान गर्न निर्देशन दिएको छ । साथै, कार्यान्वयनमा रहेका योजनाहरूलाई लक्ष्यअनुसार प्रगति हासिल गर्ने गरी तदारुकताका साथ अघि बढाउन पनि सहमति भएको छ ।

कार्यालयहरूमा रहेको बेरुजुलाई अद्यावधिक गरी पुस मसान्तभित्र समाधान गर्ने र बेरुजु फछ्यौटका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ । साथै, समस्याग्रस्त ठेक्काहरूको हकमा औचित्यका आधारमा तदारुकता अपनाई समाधानका लागि आवश्यक निर्णय गर्न र त्यसको विवरण मन्त्रालयलाई छिटो उपलब्ध गराउन भनिएको छ ।

बैठकले बजेट अभावका कारण कार्यान्वयन हुन नसकेका योजनाहरूको सूची प्राथमिकताका आधारमा निर्वाचन क्षेत्रअनुसार मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले सरोकारवालासँग छलफल गरी यी समस्याहरू समाधान गर्ने योजना बनाएको छ ।

मन्त्री चौधरीले विकास योजनाहरूको लक्ष्यअनुसारको समयमै कार्यान्वयनले मात्रै दिगो विकास सम्भव हुने भन्दै मन्त्रालयका सम्पूर्ण कर्मचारी र सम्बद्ध निकायलाई योजनाबद्ध र परिणाममुखी कार्यमा केन्द्रित हुन निर्देशन दिनुभयो । गोष्ठीले योजनाहरूको प्रभावकारीता बढाउने र समस्याहरू समाधानमा तदारुकता देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *