चेतना अनलाइन
काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) अन्तर्गत परियोजनाको कार्यान्वयनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले साझा धारणा निर्माण गरेकाे बताउनुभएको छ । विगतमा बिआरआईसम्बन्धी एमओयूमा हस्ताक्षर भए पनि परियोजनाहरू अघि बढ्न नसकेको अवस्थामा अब साझा फ्रेमवर्क तयार भएपछि कार्यान्वयनमा सहजता आउने पाेखरेलकाे विश्वास छ ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै बिआरआईका सन्दर्भमा प्रमुख दलहरूबीचको सहमतिलाई “अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रिया” को रुपमा व्याख्या गर्नुभएको छ ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले ठोस रूप लिने र नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउने पोखरेलको विश्वास छ । बिआरआईअन्तर्गतको यो पहलले नेपालमा ठूला विकास परियोजनाहरूको मार्गप्रशस्त गर्ने आशा गरिएको छ ।