नयाँ कार्यक्रमहरू थप गर्दै दाङ क्याम्पस, एमएमा तीन ओटा विषय

चेतना अनलाइन

घोराही, १३ मंसिर । राप्ती अञ्चलकै पुरानो क्याम्पसको रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस दाङमा नयाँ विषयहरू थप भइरहेका छन् ।

२०१५ सालमा म.वि.वि. शाह इन्टर कलेजको नामबाट सञ्चालित सो कलेजले २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि आङ्गिक क्याम्पसको रूपमा रहँदै आएको छ ।

क्याम्पस स्नातक र स्नातकोत्तर तहमा गरेर कुल ९ ओटा कार्यक्रम सञ्चालन भइरहेको छ । स्नातक तहमा ६ वटा र स्नातकोत्तर तहमा तीन वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । स्नातक तहमा बिए, बिबिएस, बिएस्सी, बिएड तथा स्नातक तहकै विशेष शैक्षिक कार्यक्रम अन्तर्गत बिबिए, बिसिए र बिएस्सी सीएसआइटी कार्यक्रम सञ्चालन भइरहेका छन् । यी कार्यक्रममा कुल २७ वटा विषयहरू अध्यापन भइरहेको क्याम्पस प्रमुख भरतराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक विषयहरूतर्फ विद्यार्थीको आकर्षण निकै बढेको छ ।

स्नातकोत्तर तहमा एमए र एमबिएस कार्यक्रम सञ्चालन भइरहेका छन् । एमएअन्तर्गत अङ्ग्रेजी, नेपाली र राजनीतिकशास्त्र विषय अध्यापन भइरहेको छ । पछिल्ला वर्षहरूमा स्नातकोत्तर तहमा अङ्ग्रेजी र नेपाली विषयका विद्यार्थीहरू घटेका थिए । विद्यार्थी सङ्ख्या कम भएपछि राजनीतिकशास्त्रको विषय मात्र पढाइ भइरहेको थियो । तर, पछिल्लो पटक त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा अङ्ग्रेजी र नेपाली विषय पढ्न पाउने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयले सो निर्णय गरेपछि अब पुनः अङ्ग्रेजी र नेपाली विषयमा विद्यार्थीहरूको आकर्षण बढ्ने देखिएको न्यौपानेले बताउनुभयो ।

अङ्ग्रेजी र नेपाली विषयमा विद्यार्थीहरूको सङ्ख्या कम भएपछि त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि यी विषय पढ्न पाउने निर्णय गरेको थियो । पछिल्लो समय अङ्ग्रेजी र नेपाली विषय पढेका जनशक्तिको निकै अभाव देखिएको छ । अब जुनसुकै विषय पढेका विद्यार्थीले पनि अङ्ग्रेजी र नेपाली विषय पढ्न पाउने भएपछि जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वविद्यालयले अपेक्षा गरेको छ ।

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *