कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार, चालू आयाेजना समयमै पूरा हुन्छन् : मन्त्री चाैधरी

नवराज शर्मा

कपिलवस्तु, १२ मंसिर । कपिलवस्तुको विभिन्न सिँचाइ योजनाले किसानको जीवनस्तरमा सुधार ल्याउँदै दशाैं हजार हेक्टर जमिनलाई सिंचित बनाएको छ । बाणगंगा सिँचाइ आयोजना, गड्डाघाट सिँचाइ आयोजना, र बनकसवासा फलुवा बाझ सिँचाइ आयोजनाले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको स्थानीय कृषकले बताएका छन् ।

बाणगंगा सिँचाइ आयोजना लुम्बिनी प्रदेशकै ठूलो योजना मानिन्छ । जसले दुई नगरपालिका र एक गाउँपालिकालाई लाभान्वित गरेको छ । गड्डाघाट सिँचाइ आयोजनाले ८६ प्रतिशत काम सम्पन्न गरिसकेको छ भने बाँकी सात किलोमिटर पक्की नहर निर्माण गर्न आवश्यक छ । बनकसवासा फलुवा बाझ सिँचाइ आयोजनाले करिब ४१० हेक्टर जमिनलाई सिंचित गर्दै किसानलाई वर्षमा तीनदेखि चार पटकसम्म बाली उत्पादन गर्न सक्षम बनाएको छ ।
जगदीशपुर ताल सिमसार पर्यावरणीय महत्वसहित दुई नगरपालिका र एक गाउँपालिकाका एक लाख उपभोक्तालाई लाभान्वित गर्दै आएको छ । पर्यटकीय रूपमा महत्वपूर्ण यो तालको व्यवस्थापनको लागि स्थानीयले सरकारसँग माग गरेका छन् । स्थानीय सिँचाइ विकास र व्यवस्थापनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र बाणगङ्गा सिंचाइ व्यवस्थापन कार्यालय कपिलवस्तुले सहजीकरण गरिरहेको छ । सिँचाइका बाँकी काम सम्पन्न गर्न किसानहरूले सरकारलाई आग्रह गरेका छन् ।
यसैबीच लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरीसहित मन्त्रालयको टोलीले यी आयोजनाहरूको अनुगमन गरेको छ ।
अनुगमनमा मन्त्री चौधरीसहित मन्त्रालयका सचिव विष्णु भण्डारी, मन्त्रालयका प्रवक्ता एवं ऊर्जा महाशाखा प्रमुख महेश पोखरेल सहितको टोलीले आयोजनाहरूको स्थलगत अनुगमन गरेको हो ।
यसक्षेत्रका स्थानीयहरूले नयाँ सिँचाइ योजनाहरूले कृषिमा सुधार ल्याए पनि बाँकी संरचनात्मक काम छिट्टै सम्पन्न गर्न माग गरेका छन् । बनकसवासा फलुवा बाझ सिँचाइ योजनाका लाभग्राही गोपाल केसी र विष्णु केसीले नयाँ सिँचाइ सुविधा उपलब्ध भएपछि सजिलै तीनदेखि चार बाली भित्र्याउन सकिएको बताएका छन् । उनीहरूका अनुसार पक्की नाला र केही ठाउँमा तटबन्धन भए कृषि कार्य अझ सहज हुने छ ।
गड्डाघाट सिँचाइ आयोजनाबाट लाभान्वित स्थानीयले शिवराज नगरपालिका–९ र विजयनगर गाउँपालिका–१ मा ८०० हेक्टर जमिन सिंचित भएको जनाएका छन् । तर, बाँकी सात किलोमिटर पक्की नहर निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
रामदतिवन धाम क्षेत्रका स्थानीय लक्ष्मण रायमाझी , राजु खत्री र खेमराज पौडेलले  पर्यटकहरूको संख्यामा वृद्धि भएको उल्लेख गर्दै मन्दिरको विद्युत समस्याको समाधान गर्न सोलारको व्यवस्था, तटबन्धन निर्माण, र पर्यटन विकासमा जोड दिन आग्रह गरेका छन् ।
स्थानीय कृषक र उपभोक्ताहरूले सिँचाइ योजना र पर्यटन व्यवस्थापनमा सरकारको सक्रियता आवश्यक रहेको बताएका छन् ।
स्थानीयहरूको प्रतिक्रिया सुनेपछि मन्त्री चौधरीले यी आयोजनाहरूलाई समयमै सम्पन्न गर्न मन्त्रालयले विशेष पहल गर्ने बताउनुभयो । उहाँले सिँचाई सुविधाको विकास नगरिकन कृषि क्षेत्रमा उत्पादन बढाउन नसकिने उल्लेख गर्दै सिँचाई आयोजनाहरुलाई सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको स्पष्ट पार्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *