प्रतिष्ठानको सेवा विस्तारः रोल्पाको होलेरीमा अबदेखि एमबिबिएस डाक्टर

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङबाहेक दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ।

प्रतिष्ठानले एमबिबिएसको पढाइ सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो। प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ।

एमबिबिएस चिकित्सकको व्यवस्था भएमा त्यहाँका जनताले २४ सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनु भयो। एमबिबिएस पढाइका लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउटरीच सेन्टरको रूपमा व्यवस्थापन गर्ने भएको हो।

प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमबिबिएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबिबिएस चिकित्सकको अभाव हुन नदिइने पनि बताउनुभयो। गएको असारदेखि होलेरी अस्पतालमा एमबिबिएस चिकित्सकको अभाव हुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता रहेको थियो। उहाँले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिजिपि चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो।

हाल प्रतिष्ठानमा एमडिजिपिमा २ जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन् । आज प्रतिष्ठानमा एक कार्यक्रमका बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच सहमति भई सम्झौता पुस १ गतेदेखि लागू हुनेछ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितिमा दुवै पक्षबीच एकआपसमा सम्झौता पत्र आदान प्रदान गरिएको थियो।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *