चेतना अनलाइन
दाङ, ३ मंसिर। लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता चौधरीले बबई गाउँपालिका अन्तर्गतका विभिन्न सिंचाई आयोजनाहरूको अनुगमन गर्नुभएको छ। मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने चार वटा सिंचाई आयोजनाको अनुगमन गर्नुभएको हो।
वर्षाको समयमा क्षति भएका र प्रदेश सरकारमार्फत निर्माण थालिएका विभिन्न सिंचाई आयोजनाहरूको अनुगमन गर्नुभएको हो। अनुगमन गर्दै मन्त्री चौधरीले सिंचाई आयोजना निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। मन्त्री चौधरीले बबई-५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिंचाई जल उपभोक्ता समूहको कुलो, बबरपुर सिंचाई कुलो, च्याटीखोला पूर्व हापुरे सिंचाई कुलो र बबई-७ मा रहेको मठेउरी सिंचाई कुलोको अनुगमन गर्नुभएको हो।
चार वटा कुलाले सयौं बिगाहा जमिनमा सिंचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिंचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो। प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिंचाई पुर्याउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूला सिंचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
अनुगमनका क्रममा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पूर्व अध्यक्ष भुवनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो।