नवराज शर्मा
भालुबाङ, २६ कात्तिक । लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरीले आम नागरिकलाई विद्युत सुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ ।
दाङको तुलसीपुर–१३ चिसापानीका किसानहरूले सिँचाइ र विद्युत् समस्यासम्बन्धी विभिन्न माग लिएर मन्त्री समक्ष पुगेका सर्वसाधारणहरूसँग कुराकानी गर्दै मन्त्री चौधरीले जलविद्युत पुग्न नसकेका ठाउँहरूमा पनि सौर्य ऊर्जा मार्फत वैकल्पिक व्यवस्था गरेर भएपनि विद्युतीकरण गरिने बताउनुभयो । अहिले पनि प्रदेशका केही दूरदराज गाउँ तथा सुगम जिल्लाहरूमा पनि भित्री ग्रामीण बस्तीहरूमा विद्युतीकरणको समस्या रहेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसको समाधान तत्काल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ” सबै नागरिकलाई उज्यालोमा राख्ने प्रदेश सरकारको लक्ष्य रहेको छ,” उहाँले भन्नुभयाे, ” यो आधुनिक युगमा पनि नागरिकहरू अन्धकारमा बस्नुपर्ने बाध्यता दुःखद हो ।”
प्रदेश सरकारले विद्युतीकरण तथा वैकल्पिक ऊर्जातर्फ विशेष ध्यान दिएको चौधरीको भनाइ छ । विद्युतीकरणलाई प्रभावकारी बनाउन जलस्रोतको सम्भावना रहेका पहाडी जिल्लाहरूमा लघु जलविद्युत आयोजनाहरू सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । केही ठाउँमा लो भोल्टेजका कारण सिँचाइ र जलविद्युतको उपलब्धता भएपनि किसानहरू मर्कामा परेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
विद्युत् भाेल्टेज कम हुँदा किसान मर्कामा, तत्काल समस्या सम्बाेधन गर्ने मन्त्री चाेैधरीकाे प्रतिबद्धता
यसैबीच दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ चिसापानीका किसानहरूले सिँचाइ र विद्युत् समस्यासम्बन्धी विभिन्न समस्याहरू राखेका छन् ।
चिसापानी टोल विकास संस्थाका अध्यक्ष भरत परियारले विद्युत् भोल्टेज कम हुँदा ५७ घरधुरीले सिंचाइमा कठिनाइ भोगिरहे बताउनुभयाे । उहाँले सिँचाइ अभावकै कारण खेतीमा समस्या भएको र गाउँ अझै पनि दुर्गम रहेको बताउनुभयाे ।
किसानहरूको गुनासो सुन्दै मन्त्री चौधरीले सिंचाइ र विद्युत् समस्यालाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा किसान र ग्रामीण क्षेत्रका बस्तीलाई उज्यालोमा ल्याउने पहल गरिने उल्लेख गर्दै भन्नुभयो , “किसान र अँध्यारोमा रहेका बस्तीलाई उज्यालो दिनु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रीको यस प्रतिबद्धताले किसानहरूमा आशा जागेको छ ।
गाउँका कृषकहरूले समयमै सिंचाइ सुविधा नपाउँदा उत्पादनमा ह्रास आएको बताउँदै मन्त्रीसँग समस्या समाधानको माग गरेका थिए । मन्त्री चौधरीले आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग समन्वय गरिने आश्वासन दिनुभएको छ ।