चेतना अनलाइन
घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा पहिलो तीन महिनामा नगर, वडा कार्यालय, महाशाखा र शाखाहरूले गरेका कार्यहरूको प्रगति विवरणको समीक्षा गरिएको हो । उपमहानगरपालिकाका महाशाखा, शाखा तथा वडा कार्यालयहरूले तीन महिनामा गरेका भौतिक र चालु खर्चका बारेमा महाशाखा प्रमुख, शाखा प्रमुख र वडा सचिवले जानकारी गराउनुभएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले चालु आर्थिक वर्षको पहिलो तीन महिना कार्यक्रम तथा योजनाहरू सञ्चालनको आधार भएको बताउँदै अबका दिनमा कार्यहरूलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले बजेट र नीति नियमलाई ध्यानमा राखेर योजना र कार्यक्रमहरूलाई गुणस्तरीय ढंगले अघि बढाउन आग्रह गर्नुभयो । पहिलो तीन महिनाको समीक्षाले आगामी दिनमा कार्यहरू थप परिस्कृत र छिटो गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको कार्य योजनालाई अक्षरशः पालना गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले कार्य योजना र कार्यक्रमको प्राथमिकतालाई ध्यानमा राखेर छिटो र गुणस्तरीय कार्य गर्न आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षको तीन महिनाको कार्य प्रगति र नागरिकहरूको सुझाव संकलनका लागि यही कात्तिक ३० गते रामपुरमा सार्वजनिक सुनुवाइ गर्ने तयारी नगरले गरेको छ ।