चेतना अनलाइन
काठमाण्डाैं, ५ असाेज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको भविष्य र निर्णयहरूबारे बाहिरका व्यक्तिहरूले चिन्ता गर्नुको साटो आफ्नो पार्टीको काममा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा एमालेबारे सुझाव तथा आलोचना गरिरहेको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै पार्टीलाई कसरी अघि बढाउने भन्ने निर्णय एमालेकै सदस्यहरूले गर्ने स्पष्ट पार्नुभयो ।
समाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले भन्नुभएको छ, “राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्छ, अरूको पार्टीको चिन्ता गर्नै पर्दैन ।” उहाँले नेकपा (एमाले) लाई कस्तो बनाउने भन्ने निर्णय पनि नेकपा (एमाले) का नेता, कार्यकर्ता र समर्थकहरूको हातमा रहेको बताउनुभयो ।
सामाजिक सञ्जालमा एमालेले गरेका निर्णयहरूलाई लिएर भइरहेको आलोचनालाई उहाँले महत्व नदिनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “जनता के चाहन्छन् र राष्ट्रको आवश्यकता के हो भन्ने कुरा नेकपा (एमाले) लाई राम्ररी थाहा छ ।” उहाँका अनुसार पार्टी केवल आजका मुद्दामा मात्र केन्द्रित नभएर भविष्यको तयारीमा लागिपरेको छ र बलियो तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा भइरहेको आलोचना मात्र पार्टीको वास्तविक मूल्यांकन नहुने पनि प्रष्ट पार्नुभयो । उहाँका अनुसार, “कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक सञ्जालले होइन, आवधिक निर्वाचनले गर्ने हो ।” उहाँले आवधिक निर्वाचनको माध्यमबाट मात्रै पार्टीको परीक्षण हुने बताउँदै त्यसका लागि नेकपा (एमाले) सधैं तयार रहेको उल्लेख गर्नुभएको छ ।
महासचिव पोखरेलले पार्टीको रणनीति र कार्यदिशामा आत्मविश्वास व्यक्त गर्दै भविष्यका चुनौतीहरूलाई सामना गर्न नेकपा (एमाले) दृढ रहेको बताउनुभयो ।