जनताका गुनासो सुन्न गृह जिल्लामा महासचिव पोखरेलको घरदैलो

चेतना अनलाइन

घोराही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गृह जिल्लाका विभिन्न स्थानमा घरदैलो तथा जन भेटघाट गर्नुभएको छ । पोखरेलले विभिन्न टोलमा पुगेर जनताका समस्याहरू र गुनासाहरू संकलन गर्नुभएको छ ।

पोखरेलले रोल्पा, रुकुमलगायतका विभिन्न जिल्लाबाट बसाइँसराइ गरी घोराही क्षेत्रमा बसोबास गर्दै आएका मगर समुदायका अगुवासँग भेटघाट र छलफल गर्नुभएको छ । रोल्पा र रुकुमका विभिन्न गाउँबाट बसाइँसराइ गरेर घोराहीमा आएर त्यही गाउँको नामबाट समाज (संस्था) स्थापना गरी विकासमा साझेदार गर्दै आएको मगर समुदायको महत्त्व र समाज रूपान्तरणमा भूमिकालाई अहम रहेको बताउनुभएको छ । उहाँले बार्हकुने दह र मन्दिरलाई नयाँ शैलीमा परिस्कृत गर्नुपर्ने सोच र योजना बनाउन सुझाव दिनुभएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मगर समुदायको भाषा, कला, संस्कृतिलाई संरक्षण गर्न प्राथमिकता दिएको बताउनुभएको छ । मगर समुदायका अगुवाहरूले मगर समुदाय कला, संस्कृतिमा धनी रहेको भन्दै राज्यको लगानी बढाउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी महासचिव पोखरेलले शैक्षिक क्षेत्रका अगुवा तथा सफल व्यवसायी, घोराही उपमहानगरपालिका–१४ निवासी डा. अर्जुनकुमार बुढाथोकीसँग भेट गर्नुभएको छ । भेटमा जिल्लाको शैक्षिक अवस्था, रोजगारी, उद्यमशीलतामा युवाहरूको पहुँचका विषयमा छलफल भएको छ ।

त्यसैगरी उहाँले घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका स्थानीय अगुवाहरू भेट्नुभएको छ । गाउँका अगुवा तथा मतहवा चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य, दाङ इन्चार्ज तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, पोलिटब्युरो सदस्य सुजिता साक्य, राष्ट्रिय सभाका पूर्व सदस्य कुमार दसौदी, पार्टीका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीसहितका नेता र स्थानीयहरूको सहभागितामा जलौरा गाउँको समस्या र समाधानका विषयमा छलफल भएको हो ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १८ रझेनामा पनि महासचिव पोखरेलले जन भेटघाट तथा घरदैलो गर्नुभएको थियो ।

यी विभिन्न कार्यक्रममा महासचिव पाेखरेल सहित एमाले पोलिटब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज चौधरी, पोलिट ब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, मेनका पोखरेल, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, एमाले जिल्ला अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, लुम्बिनी प्रदेशका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री सीता चौधरी लगायतका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू सहभागी हुनुभएको थियो । महासचिव बाहेकका अन्य नेताहरू आफ्नो भूगोल र कार्यक्षेत्र अनुसारका फरकफरक कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो ।

यसैबीच महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेस सरकार गठन भएसँगै विकास खर्च बढेको बताउनुभएको छ । महासचिव पोखरेलले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा आएको सुधारका कारण विकास खर्च बढेको बताउनुभएको हो ।

उहाँले जनतामा छाएको निराशालाई हटाउँदै विकास र समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार सञ्चालन गरेको बताउनुभएको छ । नेकपा (एमाले) बंगलाचुली गाउँपालिका कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले २०८४ निर्वाचनमा एमाले र कांग्रेस एक्लाएक्लै निर्वाचनमा होमिने बताउनुभएको छ ।

महासचिव पोखरेलले कार्यकर्ताहरूलाई व्यावसायिक उत्पादनमा लाग्न निर्देशन दिनुभएको छ । उहाँले एमालेले अघि सारेको स्मार्ट एग्रिकल्चरलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

गाउँपालिका कमिटी अध्यक्ष लीलाबहादुर पाटा मगरको अध्यक्षता एवम् महासचिव पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भए मात्र दिगोपन आउने बताउनुभएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *