गजलकार शशि शर्मा मजगैयाँको नयाँ गजलमा समीक्षा अधिकारीको स्वर

काठमाण्डाैं, २० असाेज । गजलकार शशि शर्मा मजगैयाँको नयाँ गजल रेकर्ड भएको छ । प्रेमभावले भरिपूर्ण गजलमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर रहेको छ । “के छ ओइ सान्नानी तिम्रो चालिमाली” बोलको गजल आइतबार काठमाडौंको प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । रोमान्टिक गजलमा स्वर भर्न पाउँदा अत्यन्तै खुसी लागेको गायिका अधिकारीले बताइन् । यसअघि केही गजलहरू गाए तापनि युगल गायनमा रहेको यो गजल पृथक रहेको गायिका अधिकारीको अनुभव छ । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् ।
गजलकार मजगैयाँ र गायक शर्माको प्रकाशोन्मुख नयाँ गजल एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए । गजलकार मजगैयाँका यसअघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका थुप्रै फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा छन् । गजलकार मजगैयाँ राष्ट्रिय गजल गायन प्रतियोगितालाई संस्थागत गर्ने अभियन्ता समेत हुन् । उनको नेतृत्वमा राष्ट्रिय स्तरका थुप्रै गजल वाचन तथा गायन प्रतियोगिताहरूको आयोजना भएका छन् । उनले विभिन्न रेडियोमा करिब दुई दशक लामो समयसम्म गजल सम्बन्धी कार्यक्रम सञ्चालन गरी गजलको उन्नयन र विकासमा समेत महत्त्वपूर्ण टेवा दिएका छन् ।
वि.सं. २०६१ सालतिर दाङबाट प्रकाशित गजलप्रधान पत्रिका “लोकप्रिय” र “निर्झर” का प्रधानसम्पादकको समेत भूमिका निर्वाह गरेका मजगैयाँले राप्ती समाज काठमाडौंद्वारा प्रकाशित “गजल यात्रा” को सम्पादकीय जिम्मेवारी पनि सम्हालेका थिए ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *