नवराज शर्मा
भालुबाङ, ३१ भदाै । ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्री सीता चौधरीले ग्रामीण क्षेत्रमा विद्युत विस्तार गर्ने आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको छिलिकोट आसपासका स्थानीयहरूले विद्युत विस्तारका लागि पेश गरेको ज्ञापनपत्र बुझ्दै उहाँले त्यहाँको विद्युत विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयले बजेट विनियोजन गर्ने उहाँको भनाइ छ ।
जनताको काम नै आफ्नो काम भएको उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो, ” हामी जनताको काम गर्न आएका हौँ, जनताका समस्या समाधान गर्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ ।”
लुम्बिनी प्रदेशको विकासका लागि समग्र दीर्घकालीन गुरु योजना बनाउनुपर्ने चौधरीको भनाइ छ । कुन क्षेत्रमा कुन आवश्यकता हो र त्यसको स्रोत कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विकास निर्माणका काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
ज्ञापनपत्र बुझाउन तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, वडा सदस्यहरू रामबहादुर पौडेल, पूर्ण बुढाथोकी, एमाले वडा कमिटी अध्यक्ष लोकबहादुर, नेपाली कांग्रेसका वडा सभापति पदम वली, माओवादी केन्द्रका वडा अध्यक्ष दुर्गाबहादुर विश्वकर्मा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रविण पुन, सचिव गोविन्द रोका, कोषाध्यक्ष जीवराज रेउले, मन्दिरका पुजारी दामोदर शर्मा लगायतका प्रतिनिधिहरू पुगेका थिए ।








