दाङमा दर्शकमाझ घेरिए पल र पुजा

दाङ, २७ भदौ । चलचित्रको प्रचारप्रसारका लागि दाङ आएका नायक पल शाह र नायिका पुजा शर्मा दाङका दर्शक माझमा निकै लोकप्रिय भए ।

नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले दर्शकहरूसँग भेटघाट गरे । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नायक पल शाहले आफूले चलचित्र ‘रावायण’मा धेरै मेहनत गरेर काम गरेको बताए । उनले दर्शकहरूको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको जानकारी दिँदै सबैलाई नेपाली फिल्मलाई माया गरेर एकपटक चलचित्र हेर्न आग्रह गरे ।

यस्तै, चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माले चलचित्र राम्रो बनेको र दर्शकहरूले मन पराएकोमा खुसी व्यक्त गरिन् । दाङ जिल्लामा पहिलो पटक आएको बताउँदै दाङवासीहरूको माया पाउँदा आफू अत्यन्तै प्रफुल्लित भएको उनले सुनाइन् । उनले पनि आम दर्शकलाई चलचित्र हेर्न आग्रह गरिन् । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दाङ शाखाका कोषाध्यक्ष भूपेश वलीले गरेका थिए ।

यसैबीच, प्रदर्शनमा रहेको चलचित्र ‘रावायण’को प्रचारप्रसारका लागि चलचित्रका कलाकार अहिले विभिन्न जिल्लामा छन् । बुधबार नायक पल शाह र नायिका तथा निर्मात्री पुजा शर्मा दाङका विभिन्न सिनेमा हलहरूमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय, र नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा उनीहरूले दर्शकहरूसँग चलचित्र हेरेका थिए । फिल्म हलमा उनीहरू दर्शकको घेरामा परेका थिए, जसले गर्दा उनीहरू हलबाट बाहिर निस्कन कठिन भएको थियो ।

चलचित्र हेरेपछि दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । दर्शकहरूले नायक पल शाह र नायिका पुजा शर्माको अभिनयको प्रशंसा गर्दै चलचित्रको छायांकन पक्ष पनि निकै उत्कृष्ट रहेको बताए । फिल्मपछि पल र पुजाले दर्शकहरूसँगै नाचेर उनीहरूको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *