कलाकारितामा भविष्य खोज्दै प्रियंका राना मगर

चेतना अनलाइन

घोराही, १० भदौ । नेपाली कला क्षेत्रमा हरेक वर्ष सयौं कलाकारहरू भित्रिने गरेका छन् । विभिन्न विधामा कलाकारहरू आफ्नो भविष्य खोज्दै आउने गरेका छन् । पछिल्लो समय दाङमा पनि कलाकारिता क्षेत्रमा नयाँ पुस्ताको आगमन व्यापक भइरहेको छ । तीमध्ये एक प्रतिभाशाली कलाकार हुन्, प्रियंका राना मगर ।

घोराही उपमहानगरपालिका वडा नं १३ की निवासी प्रियंका सानैदेखि नृत्यमा रुचि राख्दथिन् । विद्यालय तहमा नै उनी विभिन्न सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाउने गर्थिन् । उनको नृत्य कला विद्यालयका हरेक कार्यक्रममा देख्न पाइन्थ्यो ।

दाङमा आयोजना गरिएका विभिन्न मेला तथा महोत्सवहरूमा पनि प्रियंका आफ्नो कला प्रदर्शन गर्दै आएकी छिन् । २०७८ सालमा उनले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइन् । कानून विषयबाट कक्षा १२ उत्र्तीण गरेकी प्रियंका अहिले स्नातक तहको अध्ययनको तयारीमा जुटिरहेकी छिन् ।

प्रियंकाले हालसम्म आधा जीवन आधा मृत्यु, राजारानी लगायत आधा दर्जन म्युजिक भिडियोमा नृत्य प्रस्तुत गरिसकेकी छिन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरूमा उनले आफ्नो नृत्य कौशललाई उत्कृष्ट रूपमा प्रस्तुत गरेकी छिन् ।

कलाकारिता भनेको आफ्नो भित्री भावना र प्रतिभा अभिव्यक्त गर्ने कला भएको उनी बताउँछिन् । ‘म अहिले राम्रो म्युजिक भिडियोको पर्खाइमा छु । अवसर पाएमा राम्रो गरेर देखाउने आत्मविश्वास छ,’ प्रियंका राना मगरले भनिन् ।

भविष्यमा अझै उच्च सफलताको लक्ष्य राखेकी प्रियंका आफ्नो कलाको माध्यमबाट दर्शकहरूको मन जित्ने आशा राख्छिन् । उनले आफ्नो कलालाई निरन्तर परिष्कृत गर्दै अझै नयाँ ऊचाइमा पुर्याउने योजना बनाएकी छिन् । प्रियंकाले नेपाली कला क्षेत्रमा आफूलाई स्थापित गराउने लक्ष्यका साथ निरन्तर अभ्यास र मेहनत गरिरहेकी छिन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *