बाल चलचित्र महोत्सवको तयारीमा जुट्यो चलचित्र बिकास बोर्ड

दाङ । दाङमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको तयारीमा चलचित्र बिकास बोर्ड जुटेको छ ।

अगामी असार १–३ गतेसम्म दाङमा हुने बाल चलचित्र महोत्सवका लागि बोर्डको टोली दाङ पुगेर आवश्यक तयारी थालेको हो । बार्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर रावतसहितको ४ जनाको टोली दाङ पुगेर महोत्सवको तयारी स्वरुप पहिलो चरणमा जिल्लाका सरोकारवालसँग छलफल गरेको छ ।

बोर्डले आइतवार सरोकारवालहरुसँग गरेको छलफलमा बोर्डका प्रवक्ता केएल बुढाथोकीले बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको जानकारी दिए । उनका अनुसार महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनी गरिनेछ । यसका लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान समेत गरिएको उनले बताए । ‘महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ ।’ उनले भने ।

त्यस्तै महोत्सवमा फिल्म ज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बोर्डका प्रवक्ता बुढाथोकीले बताए । महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रम समेत गरिने उनले बताए । उनले केहीदिनभित्रै विभिन्न उपसमितिहरु गठन गरेर महोत्सवका तयारी तीब्र गराइने जानकारी दिए ।

महोत्सवका मुल समितिका संयोजक समेत रहेका बुढाथोकीले बोर्डले दुरदराजसम्म फिल्मको सम्भावनाको खोजी गर्ने उद्देश्यले मोफसलमा महोत्सव आयोजना गर्न लागेको बताए ।

छलफलमा बोल्दै सरोकारवालाहरुले महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा भूमिका खेल्ने बताए । उनीहरुले यस खालका महोत्सवले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले महोत्सवले बालबालिकालाई फिल्म सम्बन्धी शिक्षा र ज्ञान दिने बताए । ‘बालबालिकालाई चलचित्रको माध्यमबाट जीवन, समाज र सांस्कृतिक पक्षका विभिन्न आयाम बुझाउँन भूमिका खेल्नेछ ।’

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले महोत्सवमा बालबालिका सम्बन्धी चेतना मुलक खालका फिल्महरु प्रर्दशनीमा राख्न सुझाव दिए । त्यस्ता सिनेमाले बालमनोविज्ञान बुझ्न सघाउँने र बालबालिका मुद्दाहरु समेत बाहिर आउँने उनले बताए । उनले बालबालिका विषयमा सकारत्मक कामको थालनी भएको भन्दै आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

छलफलमा जिल्लाका वैद्धिक व्यक्ति, कला साहित्य अनुरागी, सुरक्षाकर्मी, शिक्षा प्रेमी, व्यवसायी र सञ्चारकर्मीहरु सहभागी थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *