अबको यात्रा वैज्ञानिक समाजवाद : शर्मा

चेतना अनलाइन
घोराही, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीं (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले मुलुकको अबको यात्रा वैज्ञानिक समाजवादको हुने बताउनुभएको छ ।

माओवादी केन्द्र घोराही उपमहानगरपालिकाको दोस्रो विस्तारित बैठकलाई संवोधन गर्दै शर्माले मुलुकमा प्राप्त उपलब्धिहरुमा टेकेर समाजवादमा जानुपर्ने बताउनुभएको हो । शर्माले माओवादी पार्टीले मात्र मुलुकको नेतृत्व गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

‘नेपालमा गणतन्त्रको जन्मदाता माओवादी नै हो, माओवादीले नै मुलुकममा आमुल परिवर्तन गर्न सफल भएको छ,’ उहाँले भन्नुभयो, ‘तर, अहिले माओवादीमा नयाँ उत्साह नआएको जस्तो देखिन्छ, फेरी पनि हामी सबै माओवादीहरु एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको छ ।’

पार्टी भित्र अबको समाजवाद कस्तो हुने भन्ने विषयमा व्यापक बहश भइरहेको उल्लेख गर्दै शर्माले यो छलफलमा सहभागि हुन आम कार्यकर्तालाई अपिल गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा घोराही उपमहानगरपालिकाका इञ्चार्ज भिमकुमारी बाँठा ‘निशाना’ले कि मृत्यु कि मुक्ती भन्ने लक्ष्य सहित अगाडी बढेका माओवादीहरु झुक्न नहुने बताउनुभयो ।

माओवादी केन्द्र दाङका समन्वय समिति सदस्य विश्वराज आचार्यले पार्टी भित्र नयाँ उत्साहको सञ्चार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उपमहानगरपालिका निर्वाचन समितिका संयोजक माधव न्यौपानेले निर्वाचन कार्यविधिको वारेमा प्रकाश पानुभएको थियो । उपमहानगर कमिटी अध्यक्ष प्रमोद शर्माको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव साकार थारुले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *