दाङमा डेंगु संक्रमित बिरामीको संख्या दैनिक बढ्याे

चेतना अनलाइन

घाेराही, २५ भदाै । दाङमा दैनिक डेंगु संक्रमित बिरामीको संख्या बढेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा पछिल्ला समयमा डेंगु सङ्क्रमण देखिएको हो । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले गएको भदौ १ गतेदेखि १७ गतेसम्म १ हजार २ सय ९९ जनाको परीक्षण भएकोमा २९ जनामा डेंगु पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँले भदौ १७ गतेदेखि २४ गतेसम्म १९ जनामा डेंगु पोजिटिभ देखिएको बताउनुभयो । डेंगु पोजिटिभ देखिएका अधिकांश घोराहीका रहेका छन् । सूचना अधिकारी भट्टराईले गएको साउन १ गतेदेखि ३२ गतेसम्म १ हजार ४ सय ७६ जनाको परीक्षण भएकोमा २२ जनामा डेंगु पोजिटिभ देखिएको बताउनुभयो । भट्टराईले दिएको जानकारीअनुसार २०८० साउनदेखि २०८१ असारसम्म ७६ जनामा डेंगु पोजिटिभ देखिएको छ ।

डेंगु सङ्क्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौँ’ अभियानलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङसहित स्थानीय तह मातहतका स्वास्थ्य कार्यालयले तीव्रता दिएका छन् । जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयहरूले जनाएको छ ।

डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन स्वास्थ्य संस्थाहरूले आग्रह गरेका छन् । साथै टोलबस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।

प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्न, पानी जम्न नदिन, लामो बाहुला भएका कपडा लगाउन र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरूले बताएका छन् । प्रतिष्ठानमा आउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेंगुका बिरामी हुने गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *