कानूनको सही कार्यान्वयनले सुशासनलाई प्रभावकारी बनाउँछ : संविधानविद् दाहाल

घाेराही, २४ भदाै । संविधान तथा प्रशासनविद् काशीराज दाहालले कानूनहरूको सही कार्यान्वयनले नै सुशासनमा प्रभावकारीता आउने बताउनुभएको छ ।

घोराही उपमहानगरपालिकाले आयोजना गरेको ‘स्थानीय तह सम्बन्धी कानूनहरूको प्रभावकारी कार्यान्वयन र सकारात्मक सोच’ विषयक कार्यशाला कार्यक्रममा संविधान र प्रशासन क्षेत्रका विज्ञ दाहालले कानूनहरूको प्रभावकारी कार्यान्वयन नै सुशासनको आधार भएको बताउनुभएको हो ।

संविधानले तोकेका कानूनहरू निर्माण गरी आफ्नो पालिकाको चौतर्फी विकासमा ध्यान दिएर नागरिकहरूको मन जित्नु स्थानीय सरकारको पहिलो जिम्मेवारी भएको उहाँको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू बीचको सम्बन्ध परिवर्तनको स्वार्थसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

नागरिकहरूको न्याय र चौतर्फी विकासमा जनप्रतिनिधि र कर्मचारीहरू एउटै लयबाट अघि बढ्नका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनैपर्ने उहाँको भनाइ छ । कानूनको प्रभावकारी र सही कार्यान्वयनले सुशासन कायम हुने भएकाले काम गर्दै सदैव सकारात्मक सोच हुन आवश्यक रहेकोमा पनि सुझाव दिनुभयो । सकारात्मक सोचले नै व्यक्ति र सरकारलाई सफल बनाउन सक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सकारात्मक सोचले मात्रै सफलता र परिवर्तन सम्भव हुने बताउनुभयो । कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकहरूलाई अधिकार सम्पन्न गराउन र सेवासुविधामा सहज पहुँच पुर्‍याउन स्थानीय सरकार सक्रिय रहेकोमा जोड दिनुभयो । साथै, कार्यक्रममा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी नीति निर्माणका विषयमा समेत छलफल भएको छ । नगर प्रमुख चौधरीले त्यसका लागि घोराहीमा डीपीआरको काम भइरहेको जानकारी दिनुभयो । दिसाजन्य पदार्थलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने गरी इन्फो नामक संस्थाले डीपीआरको काम गरिरहेको जानकारी दिनुभयो ।

नगरपालिका संघले आयोजना गरेको उक्त दिसाजन्य लेदो व्यवस्थापनको नीति निर्माणका विषयमा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले दिसाजन्य लेदो व्यवस्थापन चुनौतीको विषय बनेको बताउनुभयो । त्यसका लागि नगरपालिका संघको तर्फबाट सहजीकरण गरेर घोराहीमा लेदो व्यवस्थापनका लागि ट्रीटमेन्ट प्लान्टको योजना अघि बढेको जानकारी दिनुभयो । उक्त लेदोलाई प्रशोधन गरेर मल र सिँचाइका लागि पानीको रूपमा प्रयोग गर्न सकिने गरी प्लान्टको अवधारणा अघि सारिएको छ । कार्यक्रममा संघका अधिकृत मुस्कान श्रेष्ठले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी नीति निर्माण गरेर दीगो रूपमा व्यवस्थापन गर्नुपर्ने विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रमको पहिलो दिन कार्यपालिका सदस्यहरू र १९ वटै वडाका सचिवहरूको सहभागिता रह्यो भने दोस्रो दिन महाशाखा, शाखा र स्वास्थ्य केन्द्रका प्रमुखहरूको उपस्थितिमा कार्यक्रम हुनेछ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र उपप्रमुख स्यानी चौधरीको समेत उपस्थिति रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *