अमेरिकामा समाजसेवी तथा गीतकार मजगैयाँ सम्मानित

गीतकार तथा राप्ती समाज काठमाडौंका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । राप्ती सेवा समाज अमेरिका न्यूयोर्कको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक, भौतिक, सामाजिक तथा सांस्कृतिक हिसाबले पुर्याएको योगदानको कदर गर्दै राप्ती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ । मजगैयाँले नेपालको राप्ती समाज काठमाडौंको नेतृत्व गर्दै लामो समयदेखि राप्तीवासीहरूको सर्वाङ्गीण विकासमा योगदान गरेका छन् ।

उनको नेतृत्वमा राप्तीमा बाढी जाँदा होस् अथवा देउखुरीमा आगलागी भएको बेला होस्, थुप्रै सहयोग भएको छ । राप्तीबाट काठमाडौंमा आएर अलपत्र परेका वा बिरामी परेकाहरुलाई समेत सहयोग गर्न राप्ती समाजमार्फत उनको नेतृत्वदायी भूमिका रहने गरेको छ । मजगैयाँको नेतृत्वमा राप्तीमा मात्र नभएर २०७२ सालको भूकम्पको बेला गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका ठाउँहरू आफैँ पुगेर मानवीय सहायताका कार्य गरेका थिए । मजगैयाँ हाल राप्ती समाज काठमाडौंको सल्लाहकार समितिमा रही समाजका हरेक क्रियाकलापमा सक्रिय छन् ।

उनी गत कात्तिकमा गएको भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग लिएर रुकुम तथा जाजरकोट समेत पुगेका थिए । सामाजिक गतिविधिका अतिरिक्त नेपाली सङ्गीत र साहित्यको जगेर्ना गर्न तथा राप्तीको पहिचानलाई देश तथा विदेशमा परिचित गराउन पनि मजगैयाँको ठूलो भूमिका रहेको छ । उनकै नेतृत्वमा थुप्रै राप्ती म्युजिक अवार्ड तथा गजल सम्बन्धी राष्ट्रिय उत्सवहरू आयोजना भएका छन् । गजल गायन प्रतियोगिताको आयोजना गरी मजगैयाँले गजल इतिहासमा नयाँ सुरुवातको नेतृत्व गरेका हुन् । मजगैयाँ आफैँमा कुशल गीत तथा गजलकारका रूपमा परिचित छन् । उनका गजल सम्बन्धी पुस्तक, एल्बमहरू र थुप्रै फुटकर गीत, गजलहरू बजारमा आएका छन् । उनका केही आधुनिक गीत र फिल्मका गीतहरूले राम्रो व्यवसायिक सफलता समेत पाएका छन् ।

कार्यक्रममा समाजसेवी मजगैयाँले समग्र नेपालको सामाजिक विकास र सङ्गीत तथा साहित्यको उत्थानका लागि पुर्याएको योगदानको उच्च सम्मान गर्दै अमेरिकामा सम्मान गर्न पाउँदा खुशी लागेको राप्ती सेवा समाज अमेरिकाका अध्यक्ष केशव बस्नेतले बताए । यसैबीच, कार्यक्रममा बोल्दै समाजका संस्थापक तथा परिकल्पनाकार यम अधिकारीले अमेरिकामा राप्ती समाज गठन हुनुमा मजगैयाँको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । मजगैयाँ नेपालको राप्ती समाजको अध्यक्ष हुँदा आफूसँग हरेक दिन कुराकानी, छलफल भएको र त्यही ऊर्जा तथा हौसलाले यहाँ पनि समाज गठन भएर यति ठूलो एकता हुन सफल भएको चर्चा गरे ।

यसैबीच, समाजले सम्पन्न गरेको दोस्रो साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्वसहितको कार्यसमिति पनि चयन भएको छ । जसको अध्यक्षमा दाङका दीपक भट्टराई सर्वसम्मतिबाट चयन भएका छन् । गत मङ्गलबार संस्थाको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी एवम् कार्यसमिति सर्वसम्मतिबाटै चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का र अन्य उपाध्यक्षहरूमा लोकमणि न्यौपाने, भावना ओली, विनोद केसी, विनय धिताल र जुद्ध ओली चयन भएका छन् ।

त्यसैगरी महासचिवमा बसन्त अधिकारी, सचिवमा तुल्सिराम ओली, सहसचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सहकोषाध्यक्षमा शिशिर रावत र सदस्यहरूमा ताराप्रसाद ओली, बिमला ओली, टेकबहादुर ओली, श्रृजा थापा, हेमराज केसी, रञ्जना बस्नेत, महेन्द्र खड्का, भरत भट्टराई, टिकराम भण्डारी, बाबुराजा सिंह, युवराज देवकोटा रहेका छन् भने संस्थाको संरक्षकमा शम्भु बिष्ट, सञ्चार विभाग प्रमुखमा सन्तोष शर्मा र सांस्कृतिक विभाग प्रमुखमा चन्द्र ओलीलाई चयन गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार अरुण शाह, समाजका परिकल्पनाकार तथा सल्लाहकार यम अधिकारी, विकास विष्ट, तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी लगायत राप्तीबाट अमेरिका आएका विभिन्न क्षेत्रका सयौं राप्तीवासीहरूको उपस्थिति रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *