टाउकोमा ट्यूमर भएका आयुशको उपचारमा सहयोग गर्न आग्रह

घोराही, १२ भदौ । दाङ घोराही उपमहानगरपालिका वडा नं ३ गैरिगाउँ निवासी १६ वर्षीय आयुश विश्वकर्माको जीवन बचाइदिन परिवारजनले अपिल गरेका छन् ।

पाँच महिना अघिदेखि टाउकोमा ट्यूमर आएपछि आयुशको उपचारमा आफ्नो सबै रकम सकिएको उनको बुवा दीपक विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार आयुशको हालसम्म तीन पटक अपरेसन गर्दा करीब १० लाख रुपैयाँ खर्च भएको छ ।

आयुशलाई थप दुईवटा अपरेसन गर्नुपर्ने अस्पतालले बताएपछि आर्थिक अभावका कारण गर्न नसकिएको बुवा दीपकले जानकारी दिए । उपचारका लागि थप ६ लाख खर्च लाग्ने देखिएको उनले बताए । घोराहीमा अटो चलाउँदै आएका दीपकले छोराको उपचारका लागि अटो बिक्री गरिसकेका छन् । ‘घरजग्गा धितो राखेर सहकारीबाट ऋण लिएर उपचार गरेको छु,’ दीपकले भने, ‘अब हामीसँग उपचार गर्ने पैसा छैन, कसैले सहयोग गरेमा मेरो छोराको ज्यान बच्ने थियो ।’
एक छोरा र एक छोरीमध्ये छोरा आयुशलाई गम्भीर रोग लागेपछि दीपकको परिवार निकै भौतारिएको छ । ‘मेरो छोराको ज्यान बचाइदिन सहयोग गर्ने महानुभावहरूलाई अवश्य पनि धर्म लाग्नेछ,’ उनले भने, ‘पैसाकै अभावमा छोराको उपचार गर्न नपाउँदा हाम्रो परिवार निकै चिन्तित भएको छ ।’


उपचारमा सहयोग गर्न चाहने महानुभावहरूले आयुशका बुवा दीपक विश्वकर्माको नाममा प्रभु बैंकमा रहेको खाता नं ०३६०२५०६२०५०००१० मा रकम जम्मा गर्न सक्नुहुन्छ । आयुशका बुवा दीपकको मोवाइल नम्बर ९८२८१७३८४८ रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *