दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह भएको छ ।
शनिबार बाहेक हरेक सार्वजनिक बिदामा सदैव बिरामीहरूलाई प्रतिष्ठानले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार सोमबार परेको कृष्ण जन्माष्टमीको दिन ५८८ जना बिरामीले सेवा लिएका छन् ।
जसअनुसार ओपीडी सेवा ४८४ जनाले, इमरजेन्सी सेवा ६५ जनाले लिएका छन् भने ३९ जना भर्ना भएका छन् भन्ने कुरा प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । इमरजेन्सी सेवामा ३२ जना पुरुष र ३३ जना महिला, ओपीडी सेवामा २०३ जना पुरुष, २८१ जना महिला र २३१ जनाले स्वास्थ्य बीमाबाट सेवा लिएका छन् ।
शनिबार बाहेक हरेक सार्वजनिक बिदामा नियमितरूपमा ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुँदै आएको छ भने शनिबार पनि अन्तरंग सेवा र इमरजेन्सी सेवा चालु रहेको अस्पतालले जनाएको छ ।