शरद रेग्मी
काठमाडौं, ८ भदाै । दाङ जिल्लाका विभिन्न राजनीतिक दलका नेता, संघीय सांसद, स्थानीय तहका जनप्रतिनिधि, र निजी क्षेत्रका प्रतिनिधिहरूले दाङ जिल्लाको समग्र आर्थिक र भौतिक विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधिमण्डलले तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नतिसहित जिल्लाका विभिन्न विकास योजनाहरूमा आवश्यक कदम चाल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो भेटमा महासझशंकर पोखरेलले दाङको विकासका लागि विशेष महत्व राख्ने योजनाहरूलाई प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाउनुभएको मागपत्रमा टरीगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न, यसका लागि आवश्यक बजेट विनियोजन गर्न, लमही-घोराही-तुलसीपुर सडक विस्तार, कोइलाबास भन्सार नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस तहको अध्ययन सञ्चालनका लागि आवश्यक अनुमति र बजेटको व्यवस्था गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलमा सहभागी अन्य प्रमुख व्यक्तित्वहरूमा संघीय सांसदहरू दीपक गिरी, मेनका पोखरेल, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी, घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलगायत रहनुभएको थियो ।
प्रधानमन्त्रीलाई बुझाउनुभएको मागपत्रमा दाङको ऐतिहासिक सुकौरा राजाको पहिचानलाई झल्काउने राजकोटको पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गर्ने, सुकौरा-चरकमटिया सडकका लागि आवश्यक बजेट विनियोजन गरी टेन्डर प्रक्रियालाई छिटो अगाडि बढाउने, देउखुरी उपत्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सेवा सञ्चालन गर्ने, राप्ती र बबई नदीका किनारामा तटबन्ध निर्माण गर्ने, ग्वारखोला हाइड्यामको निर्माण प्रक्रिया सुरु गर्ने, स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको अतिक्रमित जमिनको संरक्षण गरी सदुपयोग गर्ने, र वेलझुण्डी आयुर्वेद चिकित्सा शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने लगायतका मागहरू पनि समावेश गरिएको छ ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले दाङको समग्र विकासका लागि आफू गम्भीर रहेको र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने योजना बनाएको जानकारी पनि दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “दाङको टरीगाउँ विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा विकास गर्न आवश्यक छ । यसका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नेछ ।”
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि दाङको विकासका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई विशेष अनुरोध गर्नुभयो । उहाँले दाङको विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिंदै टरीगाउँ विमानस्थलको स्तरोन्नति र लमही-घोराही-तुलसीपुर सडक विस्तार परियोजनाहरूको काम छिटो सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति, सडक विस्तार, र अन्य विकास परियोजनाहरूले दाङको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।” पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा भन्नुभयो ।
जनप्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई बुझाउनुभएको मागपत्रमा समावेश गरिएका योजनाहरूले दाङको समग्र आर्थिक र भौतिक विकासलाई तीव्रता दिने विश्वास जनाउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले पनि प्रधानमन्त्रीसँगको भेटपछि टरीगाउँ विमानस्थलको स्तरोन्नति र चारलेन सडक विस्तारको काम चाँडै सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीहरूले पनि प्रधानमन्त्रीले दिएको आश्वासनप्रति सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ ।
प्रधानमन्त्रीसँगको यो भेट र बुझाइएको मागपत्रले दाङ जिल्लाको दीर्घकालीन विकास र समृद्धिका लागि नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ । दाङ जिल्लाको समग्र विकासका लागि बालुवाटारमा भएको यो पहलले दाङवासीमा नयाँ आशा र उत्साह जगाएको छ ।