नागरिकलाई विकासको प्रत्याभूति हुने गरी काम गर्नुस् : मन्त्री न्यौपाने

भालुबाङ, ५ भदाै । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशवासीलाई विकासको प्रत्याभूति हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आम नागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा सहभागी मन्त्रालय मातहतका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रदेशमा उद्योग सञ्चालनको उचित वातावरण निर्माण गरिनु पर्ने र यसले समग्र प्रदेशको आर्थिक स्तर वृद्धि हुने भएकाले स्वरोजगारको बाटो पहिल्याउने गरी काम गर्न निर्देशन दिए ।

उद्योग कार्यालयमार्फत सीप विकासका कार्यक्रमलाई जोड दिनु पर्ने भन्दै मन्त्री न्यौपानेले भने “सीप विकासका कार्यक्रम सञ्चालन गरेर नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ, फलतः यस्ता कार्यक्रमलाई जोड दिनु पर्छ ।” सीपमूलक कार्यक्रमले नागरिकलाई दक्षता प्रदान गर्ने र रोजगारको सृजना समेत गर्ने भन्दै मन्त्री न्यौपानेले नागरिकलाई रोजगारमा जोड्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

नयाँ योजना र कार्यक्रम सञ्चालनका लागि नियमित छलफल र संवाद अपरिहार्य रहने भन्दै मन्त्री न्यौपानेले नयाँ-नयाँ योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । प्रदेशमा अहिले नयाँ उद्योग खुल्ने भन्दा बन्द हुने संख्या बढ्दै जानु दुखद रहेको भन्दै मन्त्री न्यौपानेले उद्योगलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाइनु पर्ने बताए ।

कार्यक्रममा प्रदेशका उद्योग कार्यालयका प्रमुखहरूले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *