मौसमजन्य रोगबाट बच्न खानपान र सरसफाइमा ध्यान दिन आग्रह

घोराही, ४ भदौ । घोराही उपमहानगरपालिकाले वर्षायाममा विभिन्न रोगको संक्रमण फैलन सक्ने भन्दै खानपान र सरसफाइमा ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

वर्षायाममा फैलने डेंगु, झाडापखाला, रुघाखोकी जस्ता रोगले संक्रमण गर्ने भएकाले खानपान तथा सरसफाइमा ध्यान दिन उपमहानगरपालिकाको स्थानीय द्रुत प्रतिकार्य समितिले अनुरोध गरेको हो । उपमहानगरको द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोलीको मंगलबार बसेको बैठकले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेलाई खोजेर नष्ट गर भन्ने अभियान सञ्चालन गर्न सबैमा अनुरोध गरेको छ ।

त्यसैगरी, पानी जम्ने खाडलहरू पुर्न, लामखुट्टेको बासस्थानलाई नष्ट गर्न, सुत्दा अनिवार्य झुलको प्रयोग गर्न पनि बैठकले नगरबासीमा आग्रह गरेको छ । साथै झाडापखाला, वान्ता, रुघाखोकीबाट बच्नका लागि सुरक्षित पानी पिउन, पानी उमालेर पिउन, स्वच्छता र सरसफाइमा विशेष ध्यान दिन, होटल तथा रेस्टुरेन्टहरूमा खाद्य गुणस्तर कायम राख्न बैठकले सबैमा अनुरोध गरेको छ ।

नगर प्रमुख एवं समितिका संयोजक नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कुनै पनि महामारी आईहाले त्यसलाई नियन्त्रण गर्नका लागि द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने समेत निर्णय गरेको छ । घोराही उपमहानगरपालिकामा द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह परिचालन निर्देशिका २०७९ बमोजिम समिति र टोली पुनर्गठन गरिएको छ । समितिमा संयोजक नगर प्रमुख नरुलाल चौधरी, सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डा. रमेश बस्नेत, सुनिलकुमार शर्मा र सदस्य सचिवमा जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राधा पौडेल रहनुभएको छ ।

यसैगरी, स्थानीय द्रुत प्रतिकार्य टोलीमा जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राधा पौडेल संयोजक, सदस्यहरूमा स्वास्थ्यकर्मीहरू डा. रमेश बस्नेत, लुमाकान्त पोखरेल, हिमलाल केसी, बालकृष्ण चौधरी, विमला पौडेल, गोपीलाल वली, दुर्गाप्रसाद चौधरी, कृषि तथा पशु विकास शाखा प्रमुख श्रीधर अधिकारी, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुनिलकुमार शर्मा र सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी रहनुभएको छ ।

कुनै पनि महामारीका रूपमा देखा पर्ने स्वास्थ्य समस्यालाई समाधान गर्न समिति आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्नेछ भने टोली फिल्डमा खट्नेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *