चेतना अनलाइन
घाेराही, ४ भदाै । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा १ सय ९४ जना विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
घोराही उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी एसईईको नतिजामा ल्याएको जिपीएको आधारमा फारम भर्न आह्वान गरी १९४ जना विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो ।
घोराही उपमहानगरपालिका भित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयहरूमा ती विद्यार्थीहरूलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ । घोराही उपमहानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०८० को दफा ६.४ मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शिक्षण शुल्क, र परीक्षा शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । साथै, दफा ४.१० मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क, र मासिक शुल्क लिइसकेको भए सो शुल्क सम्बन्धित विद्यार्थीहरूलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
घोराहीका ज्ञानसिन्धु, दाङभ्याली, अल्फा, माउन्ट भ्यू, नेपाल पुलिस, जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, दीपशिखा आवासीय मावि, विद्यानिलकण्ठ, गोरखा इन्टरनेशनल, गोदावरी, ग्यालेक्सी, गुरुकुल, मनकामना, मेचिकाली, शान्तिसुधा, र हिन्दू विद्यापीठ गरी १७ वटा विद्यालयले नियम अनुसार छात्रवृत्तिमा पढाउनुपर्ने छ ।
तोकिएका संख्या अनुसार विद्यार्थीहरूको नाम र पढ्न चाहेको विषयलाई उल्लेख गरी छात्रवृत्तिका लागि उपमहानगरको सामाजिक विकास शाखाले ती सबै विद्यालयहरूमा पत्र पठाइसकेको छ ।