चेतना अनलाइन
काठमाडौँ, ३१ साउन । नेकपा (एमाले) का महासचिवले पश्चिम नेपालमा वामपन्थी आन्दोलनलाई उचाइमा पुर्याउन नेत्रलाल अभागीको योगदान विशिष्ट रहेको बताउनुभएको छ ।
नेपालको वामपन्थी र दङ्गाली किसान आन्दोलनका अग्रज नेतृत्वकर्ता शहीद नेत्रलाल अभागीको जीवन र योगदानका विविध पक्ष समेटेर शहीद नेत्रलाल अभागी प्रतिष्ठानले प्रकाशन गर्न लागेको नेत्रलाल अभागी स्मृति ग्रन्थका लागि धारणा व्यक्त गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
अभागीले शुरूमा शिक्षण पेशामार्फत विद्यार्थीहरूलाई राजनीतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । “अभागीले शिक्षण पेशामार्फत मात्र नभई किसान आन्दोलन र साहित्य रचनामार्फत कम्युनिस्ट जागरण ल्याउनुभयो,” पोखरेलले भन्नुभयो, “पछि उहाँ पूर्णकालीन भएर भूमिगत राजनीति शुरू गर्नुभयो ।”
महासचिव पोखरेलले बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण शुरू भएको स्पष्ट पार्नुभयो । मुलुकमा अस्थिरताको अन्त्य गरी समृद्धिको यात्रा तय गर्न मुलुकका दुई प्रमुख पार्टीहरूबीच सहकार्य भएको उहाँको भनाइ छ ।