प्रदेश प्रमुख घर्तिद्वारा राप्ती प्रतिष्ठानको अवलाेकन, अस्पतालको विकासमा सहयोग गर्ने प्रतिवद्धता

दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुभएको छ। प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, र निमित्त निर्देशक डा. जनार्दन पन्थीले खादा, माला र टीका लगाएर प्रदेश प्रमुख घर्तिलाई स्वागत गर्नुभएको हो।

प्रतिष्ठानका निमित्त निर्देशक डा. पन्थी र इमरजेन्सी विभागका इञ्चार्ज एमडिजिपि डा. उमाकान्त तिवारीले अस्पतालको सेवासुविधासहित अध्ययन र अनुसन्धानमूलक कार्यमा भइरहेको प्रगति विवरण बारे जानकारी गराउँदै प्रतिष्ठानमा शैक्षिक कार्यक्रमले गति लिँदै गएको बताउनुभयो।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानमा सेवा सुधारसहित शैक्षिक कार्यक्रम अनुसार अहिले एमबीबीएस पढाउने गरी प्रतिष्ठानले आफ्नो काम गरिरहेको र सोही अनुसार प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको इमरजेन्सी सेवा, मिर्गौला रोगका बिरामीले निःशुल्क पाइरहेको हेमोडायलासिस सेवा, एमआरआई सेवा, सीटी स्क्यान सेवा, आइसियुसहितको सेवा विस्तारको अवलोकन गर्नुभएको थियो।

अवलोकनपछि बोल्दै प्रदेश प्रमुख घर्तिले साविक राप्तीसहित पश्चिम क्षेत्रमा प्रतिष्ठान गौरवको योजना रहेको भन्दै यस क्षेत्रलाई मेडिकल हबको रूपमा विकास गर्न आफुले सकेको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

घर नजिकैको स्वास्थ्य सेवा सबै मिलेर बलियो बनाउनुपर्ने भन्दै उहाँले प्रतिष्ठानको समग्र विकासका लागि बजेट लगायत अन्य स्वास्थ्यका कार्यक्रमहरू अघि बढाउन केन्द्रमा लविङ गरेर सहयोग गर्ने आश्वासन दिनुभयो।

प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको अवलोकन गरेर वस्तुस्थिति बुझेर सहयोग गर्नुका साथै अस्पतालको स्तरोन्नतिमा पनि पहल गर्ने प्रतिवद्धता जनाएपछि प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, र निमित्त निर्देशक डा. जनार्दन पन्थीले संयुक्त रूपमा उहाँलाई धन्यवाद दिनुभएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *