दाङ, २७ साउन। जिल्ला प्रहरी कार्यालय दाङले साउन महिनामा मात्र विभिन्न समयमा अपराधी ठहर भई फरार रहेका ११ जनालाई पक्राउ गरेको छ । यससँगै अपराधजन्य घटनालाई निरुत्साहित पार्न दाङ प्रहरीले सक्रियता देखाएको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आज आइतबार एक विज्ञप्ति जारी गरी साउन महिनामा विभिन्न समयमा फरार भएका अपराधीहरूलाई पक्राउ गरेको सूची सार्वजनिक गरेको हो । ‘विभिन्न मितिमा आपराधिक क्रियाकलाप गरी तत्काल फरार भएका तथा अदालतबाट अपराधी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न तथा अपराधलाई निरुत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्राथमिकता दिएको र साउन महिनामा ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत दाङमा बुझाइएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
